युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने बताएका छन्।

0Shares

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने बताएका छन्।


थाङ्मीचागु डट कम संवाददाता
२१ श्रावण २०८१

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया तथा बधाई कार्यक्रमको अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा यसको विकास गर्ने धारणा राखेका हुन्।

भविष्यमा राजनीतिज्ञहरूका लागि पनि खेलकुद मन्त्रालय रोजाइमा पर्ने तवरबाट काम गर्ने उनको भनाइ थियो।

मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्नेमा जोड दिए। उनले भलिबल खेल्दा विभिन्न संस्थानको प्रतिनिधित्व गरेर खेल्ने गरे पनि अहिले त्यो अवस्था नरहेको जिकिर गरे।

आफ्नो कार्यकालमा खेलकुद क्षेत्र विवादरहित बनाउने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री चौधरीले ऐननियम अनुरूप नै आफू अगाडि बढ्ने बताए। खेलकुद क्षेत्रमा आफू केही योगदान गर्ने उद्देश्यले आएको मन्त्री चौधरी बताउँछन्।

उनले पूर्वमन्त्रीहरूले गरेका राम्रा काम भए त्यसलाई आफूले पनि निरन्तरता दिने दाबी गरे‍।

नेपाली खेलकुद क्षेत्र एउटा व्यक्ति ४०/५० वर्षसम्म एउटै पद अध्यक्ष या महासचिव पदमा बसिरहेको अवस्था पनि रहेको मन्त्री चौधरीले उल्लेख गरे। अब त्यो अवस्था हटाउने प्रयासमा आफू रहेको उनको भनाइ थियो।

मन्त्री चौधरीले एउटै मानिस जहिल्यै त्यही पदमा बसिरहनुको अर्थ केही खराब काम पनि भइरहेको शंका गर्नुपर्ने पर्याप्त ठाउँ रहेको धारणा राखे। आगामी दसौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुनेगरी अहिले काम भइरहेको मन्त्री चौधरीले प्रष्ट पारे।

राष्ट्रिय खेलकुद आयोजनाका लागि अब झन्डै ९० दिन बाँकी रहेको र आफूले व्यवस्थित तवरबाट खेल आयोजना गर्ने गरी योजना बनाउन आफू मातहतका निकायलाई निर्देशन दिएको मन्त्री चौधरीले उल्लेख गरे। यस पटक पनि पूर्वाधार अभावमा कर्णाली प्रदेशमा २४ खेल मात्र खेलाइने उनले संकेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *