तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
2026-06-20थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
झोलुंगे पुलमा फसेको गोरूको यसरी गरियो उद्धार (तस्बिरहरू)
झोलुंगे पुलमा फसेको गोरूको यसरी गरियो उद्धार (तस्बिरहरू)
थाङमिचागु डटकम संवाददाता

दाङको एउटा झोलुंगे पुलमा फसेको गोरूको सकुशल उद्धार गरिएको छ।
दंगीशरण गाउँपालिका– १ रामपुरका ज्योती चौधरी बबईवारि जुर्पन्यामा खेत जोतेर शुक्रबार बेलुकी घर फर्किँदै गर्दा उनको एउटा गोरू झोलुंगे पुलमा फसेको थियो।
बबई नदीमाथि निर्मित यो झोलुंगे पुलले उत्तरको दंगीशरण– ४ बैबाङ गाउँ र दक्षिणको– १ नम्बर वडा रामपुर जोड्छ। अघिल्लो साता शुक्रबारदेखि पानी परेर बबईमा आएको बाढीले पुलमा क्षति पुर्याएको थियो। पुलका केही लठ्ठाहरू बगेका थिए। दक्षिण रामपुरतर्फको पिलरमा क्षति हुँदा पुल कोल्टिएको छ।
सम्भावित दुर्घटनाको जोखिम मध्यनजर गर्दै पुलको प्रवेशद्वारमा सामान्य डोरी बाँधेर बन्द गरिएको थियो। तर केही युवायुवतीले प्रवेशद्वारमा बाँधिएको डोरी फालिदिएका थिए। केहीले कोल्टिएको त्यही पुलमाथि चढेर भिडिओ बनाएका छन्।

ज्योति चौधरीको खेत नदीपारि भएकाले सधैं दुई गोरूसहित त्यही पुलबाट आउजाउ गर्थे। शुक्रबार पनि बेलुकी साढे ७ बजेतिर फर्किँदै गर्दा एउटा गोरू झोलुंगे पुलमा फसेको थियो।
ज्योतिले सहयोगका लागि गाउँघरका मानिस गुहारे। उद्धार प्रयास गरे पनि उनीहरूले सकेनन्। वडाध्यक्ष र नजिकको इलाका प्रहरी कार्यालय, हेकुलीमा खबर गरेपछि प्रहरी टोलीले बेलुकी ९ बजेसम्म गोरूको उद्धार प्रयास गर्यो। सम्भव नभएपछि सबै घर फर्किए। गोरू रातभर पुलमै कराइरह्यो।
प्रहरी र स्थानीयले पुलमा अड्केको गोरूको उद्धार गर्न नसकेपछि तुलसीपुरस्थित सशस्त्र प्रहरी बललाई आग्रह गरे। शनिबार तुलसीपुरबाट सशस्त्र प्रहरी बलका नायब उपरीक्षक जयराम बस्नेतको नेतृत्वमा ९ जनाको टोली बिहान साढे ६ बजे नै घटनास्थल पुग्यो।
सबै मिलेर बिहान सात बजेबाट उद्धार सुरू गरे। मेसिनले गोरू छिर्न सक्ने गरी पुलको भाग काटियो र घिर्नी, पर्वतारोहीले प्रयोग गर्ने डोरी लगायत प्रयोग गरेर गोरूलाई बिस्तारै तल झारियो। सवा दुई घन्टाको प्रयासपछि गोरू सकुशल बगरमा झारिएको हो।
पुलमा अड्केका बेला गोरू निकै छटपटाएका कारण घाउखत लागेर रगत बगिरहेको थियो। पशु चिकित्सकले उपचार गरेपछि गोरू केहीबेरमै उठ्यो र ज्योतिले गोरू घर लिएर गए।







