राजदूतमा टुंगियो भागबन्डा, केहीलाई आजै सिफारिस गर्ने तयारी

0Shares

राजदूतमा टुंगियो भागबन्डा, केहीलाई आजै सिफारिस गर्ने तयारी

थाङमिचागु डटकम संवाददाता

सत्तारूढ दलले राजदूतको भागबन्डा टुंगो लगाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको हो। 

स्रोतका अनुसार रिक्त राजदूतमध्ये एमालेले आठ वटा, राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एउटामात्रै पाउने समझदारी जुटेको छ।

‘एमालेले आठ, रास्वपाले दुई र माओवादी केन्द्रले एउटा लिने समझदारी जुटेको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘आज अपराह्न चार बजे बस्ने मन्त्रिपरिषद्को बैठकले केही देशको राजदूत टुंगो लगाउने छ।’

माओवादी केन्द्रको चीन लगायत देशमा राजदूत रहेकाले भागबन्डामा कम पाएको हो। रास्वपाका तर्फबाट कुनै पनि देशमा राजदूत नभएकाले दुईवटा दिएको सत्तारूढ दलका नेताहरूले बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको भागमा दुईवटा राजदूत परेको बताउँदै मापदण्ड तय गरेर राजदूत सिफारिस गरिने बताए।

‘हामीले पहिलोपटक राजदूत पठाउँदैछौं। योग्यता, क्षमतासहितको स्पष्ट मापदण्ड तय गरेर हामी सिफारिस गर्छौं,’ उनले भने।

सरकारले गत जेठ २४ गते भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, पोर्चुगल, स्पेन, डेनमार्क र इसराइलका राजदूतलाई फिर्ता बोलाएको थियो।  

एमालेले भने यसअघि फिर्ता बोलाइएका केहीलाई दोहोर्‍याउने तयारी गरेको छ।

तत्कालीन गठबन्धन सरकारले २०७८ असोज ५ गते अमेरिकाका युवराज खतिवडा, बंगलादेशका डा.वंशिधर मिश्र, बेलायतका लोकदर्शन रेग्मी, चीनका महेन्द्रबहादुर पाण्डे, भारतका नीलाम्बर आचार्यलाई फिर्ता बोलाएको थियो। कतारका नारद भारद्वाज, इसराइलका अञ्जान शाक्य, मलेसियाका उदयराज पाण्डे, स्पेनका दावाफुटी शेर्पा, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा र ओमानका शर्मिला पराजुली पनि फिर्ता भएका थिए। पराजुली केहीसमयपछि स्पेनका लागि राजदूत बनेकी थिइन्। उनलाई अहिले फिर्ता बोलाइएको छ।

राजदूतबाट फिर्ता भएकी अञ्जान शाक्य राष्ट्रिय सांसद मनोनीत भइसकेकी छिन्। केहीले दोहोरिन नचाहेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

‘एमालेबाट केही नयाँ जान्छन्, केही पुरानै दोहोरिन्छन। त्यतिबेला फिर्ता हुनुभएका केही अरू जिम्मेवारीमा जानुभएको छ। केहीले रुचि देखाउनुभएको छैन,’ ज्ञवालीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *