एनपीएल प्लेअफको समीकरण पूरा : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने, एलिमिनेटरमा काठमान्डु र चितवन आमनेसामने ।।।

1Shares

एनपीएल प्लेअफको समीकरण पूरा : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने, एलिमिनेटरमा काठमान्डु र चितवन आमनेसामने

लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंकसहित दोस्रो भयो । पोखरासँग पराजित भएपछि काठमान्डुले एलिमिनेटर खेल्नुपर्ने भएको छ ।

संवाददाता | २९ कात्तिक २०८३, काठमाडौं।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका सबै २८ खेल सम्पन्न भएसँगै प्लेअफको समीकरण पूरा भएको छ।

लिग चरणमा साविक विजेता लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। यस्तै, साविक उपविजेता सुदूरपश्चिम रोएल्स १० अंक जोड्दै दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्न सफल भएको छ।

अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलमा विजयी हुने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

त्यसैगरी, एलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुने भएका छन्।

लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि काठमान्डु गोर्खाज शीर्ष दुईमा पुग्न असफल भएको हो। सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको काठमान्डु तेस्रो स्थानमा रह्यो।

एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजयी टोलीले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायर मंगलबार हुनेछ। अब एनपीएलको उपाधि यात्रामा चार टोलीबीच हुने प्रतिस्पर्धाले क्रिकेटप्रेमीको ध्यान तान्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *