विदेश भ्रमणमा मन्त्री र सांसदको लर्को, उपलब्धिमाथि उठ्यो प्रश्न ।।।

0Shares

विदेश भ्रमणमा मन्त्री र सांसदको लर्को, उपलब्धिमाथि उठ्यो प्रश्न

थाङ्मीचागु डट कम | १ मङ्सिर २०८३, सोमबार

काठमाडौँ। नेपालका मन्त्री तथा सांसदहरू विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन, औपचारिक कार्यक्रम तथा पार्टीगत निमन्त्रणामा विदेश भ्रमणमा निस्किएका छन्। संसद् अधिवेशन बन्द रहेको र चाडपर्वको समय पारेर ठूलो सङ्ख्यामा जनप्रतिनिधि विदेश भ्रमणमा गएपछि उनीहरूको भ्रमणको औचित्य, खर्च र उपलब्धिबारे प्रश्न उठ्न थालेको छ।

यसै क्रममा मन्त्री तथा सांसदहरूको टोली संयुक्त राष्ट्रसङ्घीय ३१औँ जलवायु सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको अन्तालिया पुगेको छ। कृषिमन्त्री गीता चौधरीसहित पाँच मन्त्री तथा विभिन्न सांसद सम्मेलनमा सहभागी हुन टर्की गएका हुन्। त्यसमध्ये केही मन्त्री तथा सांसद स्वदेश फर्किसकेका छन्।

परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनमा सहभागी भई सम्बोधन गरेर नेपाल फर्किएका छन् भने कृषिमन्त्री गीता चौधरी र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि स्वदेश फर्किएका छन्। शिक्षामन्त्री सस्मित पोखरेल भने अन्तालियामै रहेका छन्। स्वास्थ्यमन्त्री निशा मेहता पनि सम्मेलनमा सहभागी भएर श्रीलङ्काको बाटो हुँदै नेपाल फर्किएकी छन्।

कोप सम्मेलनमा सहभागी हुन सांसदहरू आशिष गजुरेल, सुम्निमा उदास, श्रीराम न्यौपाने, सागर ढकाल, कमल सुवेदी, अशोककुमार चौधरी, अर्जुनकुमार कार्की, धर्म केसी, नीता घतानी, परशुराम तामाङ, प्रमिलाकुमारी गच्छदार, राम लामा, राजेन्द्रलक्ष्मी गैरे र राधिका रम्तेललगायत अन्तालिया पुगेका छन्।

नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने कोप–३१ सम्मेलनमा विश्वभरका सरकारका प्रतिनिधि तथा जलवायु विज्ञहरू सहभागी छन्। सम्मेलनमा नेपालले ‘नेपाल पेभिलियन’ स्थापना गरी जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण तथा वातावरणीय चुनौतीका विषयमा विभिन्न छलफल सञ्चालन गरिरहेको छ।

तर नेपाल, भुटान र किर्गिस्तानले अघि सारेको पर्वतीय मुद्दालाई छुट्टै औपचारिक एजेन्डाका रूपमा समावेश गर्ने प्रस्तावमा सर्वसम्मति जुट्न नसकेपछि प्रस्ताव अघि बढ्न सकेन। यसले अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको कूटनीतिक तयारी र उपलब्धिबारे समेत बहस सिर्जना गरेको छ।

यसैबीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसद चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा ११ दिने चीन भ्रमणमा निस्किएका छन्।

रास्वपाका महामन्त्री विपीन आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला समिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापालगायत सहभागी छन्।

चीन भ्रमणका क्रममा दुई देशबीच पार्टीगत सम्बन्ध विस्तार, लगानीका अवसर तथा आर्थिक सहकार्यका विषयमा छलफल हुने रास्वपाका नेताहरूले बताएका छन्। टोलीले सिचुआन प्रान्तबाट भ्रमण सुरु गरी राजधानी बेइजिङ पुगेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

त्यस्तै गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन पुगेका छन्। यूएई सरकारको औपचारिक निमन्त्रणामा उनी सम्मेलनमा सहभागी हुन गएका हुन्।

सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदानका विषयमा छलफल हुने जनाइएको छ।

यसैगरी कानुनमन्त्री सोविता गौतम नेदरल्यान्ड्स तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) बेलायत भ्रमणबाट स्वदेश फर्किएका छन्। मन्त्री पौडेल लन्डनमा आयोजित वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम) २०२६ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका थिए।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना पनि अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन कतारको दोहा पुगेर स्वदेश फर्किएका छन्।

रास्वपा सांसद डा. तोषिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला पुगेकी छन्। अर्की सांसद क्रान्तिशिखा धिताल अमेरिका पुगेकी छन्।

यसैगरी प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल सहभागी हुने तयारी रहेको बताइएको छ।

विदेश भ्रमणको खर्च र औचित्यमाथि प्रश्न

मन्त्री तथा सांसदहरूको विदेश भ्रमण बढिरहेका बेला सत्तारुढ दल रास्वपाकै केही सांसदहरूले भ्रमणको खर्च, पारदर्शिता र औचित्यमाथि प्रश्न उठाएका छन्।

रास्वपा सांसद गणेश कार्कीले कोप सम्मेलनमा सहभागी हुन जानेहरूले सरकारी खर्चमा वा व्यक्तिगत खर्चमा भ्रमण गरेको हो भन्ने सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

उनले व्यक्तिगत इच्छालाई सरकारी खर्चमा पूरा गर्न नहुने उल्लेख गर्दै भ्रमणको खर्चको स्रोत पारदर्शी बनाउनुपर्ने बताएका छन्।

त्यस्तै सांसद आशिका तामाङले विदेश भ्रमणको उद्देश्य र त्यसबाट जनतालाई प्राप्त हुने उपलब्धिबारे स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने बताएकी छन्। आफ्नै पार्टीका सांसदहरूलाई समेत भ्रमणको उद्देश्यबारे जानकारी नहुने अवस्था रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्।

अर्की सांसद ज्वाला संग्रौलाले ठूलो सङ्ख्यामा समूह बनाएर विदेश भ्रमण गर्नु देश र जनताको हितविपरीत हुन सक्ने टिप्पणी गरेकी छन्। सम्बन्धित मुलुक वा संस्थाले खर्च व्यहोरेर निमन्त्रणा गरेको अवस्थामा भ्रमण उचित भए पनि राज्यको रकम खर्च गरेर अनावश्यक भ्रमण गर्नु गलत हुने उनको भनाइ छ।

लर्को लागेर विदेश भ्रमण गर्नु त्यति राम्रो होइन : आचार्य

परराष्ट्र मामिलाका जानकार तथा पूर्वराजदूत निलाम्बर आचार्यले मन्त्री तथा सांसदहरूले आवश्यकताअनुसार विदेश भ्रमण गर्नुपर्ने भए पनि ठूलो सङ्ख्यामा एकैपटक भ्रमणमा निस्कनु उचित नभएको बताएका छन्।

उनका अनुसार विदेश भ्रमण मितव्ययी, उद्देश्यपूर्ण र देशहितमा केन्द्रित हुनुपर्छ। अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सहयोग आदानप्रदान तथा राष्ट्रिय मुद्दा स्थापित गर्न आवश्यक तयारी गरेर कूटनीतिक माध्यमबाट अघि बढ्नुपर्ने उनको सुझाव छ।

आचार्यले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुअघि सम्बन्धित मुलुकहरूसँग द्विपक्षीय छलफल र आवश्यक तयारी गर्न सके नेपालको एजेन्डा अघि बढाउन सहयोग पुग्ने बताएका छन्।

उनका अनुसार मन्त्री तथा सांसदहरू विदेश भ्रमणमा जाँदा त्यसबाट देश र जनतालाई कुनै न कुनै ठोस उपलब्धि प्राप्त हुनुपर्छ।

जनप्रतिनिधिहरूको विदेश भ्रमणलाई लिएर उठेका प्रश्नसँगै भ्रमणको खर्च कसले व्यहोरेको हो, कति खर्च भयो, भ्रमणको उद्देश्य के थियो र त्यसबाट नेपालले के उपलब्धि हासिल गर्‍यो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने मागसमेत बढ्दै गएको छ।

थाङ्मीचागु डट कम | समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *