हात्तीको जोखिम बढेपछि सुरक्षाकर्मीसहित खेतमै उत्रिए स्थानीय, पाकेको धान काट्न अभियान।।।

1Shares

हात्तीको जोखिम बढेपछि सुरक्षाकर्मीसहित खेतमै उत्रिए स्थानीय, पाकेको धान काट्न अभियान

झापा ।

झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि पाकेको धानबाली जोगाउन स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि खेतमै उत्रिएका छन्।

हात्तीबाट धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि तथा किसानको संयुक्त सहभागितामा धान काट्ने अभियान सञ्चालन गरिएको हो।

बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको आवागमन बढ्दै गएपछि किसानलाई पाकेको धान समयमै भित्र्याउन जिल्ला प्रशासन कार्यालय झापाले आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाएका थिए।

मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको जोखिमका कारण किसानलाई पाकेको बाली भित्र्याउन कठिनाइ भएपछि सुरक्षाकर्मी र स्थानीय समुदायको सहकार्यमा अभियान सञ्चालन गरिएको हो।

यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको टोली बाहुनडाँगी पुगेको थियो।

अनुगमनका क्रममा किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए।

किसानको मागअनुसार प्रशासनले थप सुरक्षाकर्मी परिचालन गरी स्थानीय समुदायसँग समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने जनाएको छ।

हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्दै किसानको मेहनतले फलाएको धानबाली सुरक्षित रूपमा भित्र्याउने अभियानलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

थाङ्मीचागु डटकम
समाचार तथा सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *