धनगढीमाई–१३ को ग्रिनरी पार्कमा बुद्ध प्रतिमाको प्राण प्रतिष्ठा ।।।

0Shares

धनगढीमाई–१३ को ग्रिनरी पार्कमा बुद्ध प्रतिमाको प्राण प्रतिष्ठा ।।।

विनोद अविरल,सिराहा, असोज ३ । सिराहाको धनगढीमाई नगरपालिका–१३ स्थित ग्रिनरी पार्कमा नवनिर्मित भगवान बुद्धको प्रतिमाको विधिपूर्वक प्राण प्रतिष्ठा उद्घघाटन गरिएको छ ।

बुद्ध प्रतिमा निर्माण समितिका अध्यक्ष प्रेमकुमार पाख्रिनको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष सूर्यमान तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा समाजसेवी राजेन्द्र यादव, दिलीपकुमार लामा, राजनीतिज्ञ तेजीलाल लामा, सिराहा जिल्ला तामाङ घेदुङका अध्यक्ष प्रेमकुमार योञ्जन, धनगढीमाई -९ का वाडा अध्यक्ष प्रकाश योञ्जन, समाजसेवीहरु किताब योञ्जन, ज्ञानकुमार पाख्रिन, डोर्न लामा, कृषि व्यवसायी सञ्जीव यादव, राजनीतिज्ञ नैनबहादुर मोक्तान, शिक्षक अमर योञ्जन, बौद्धिक व्यक्तित्व दुर्गा खड्कालगायतको उपस्थिति थियो ।

स्थानीय युवा गोविन्द लामाको प्रमुख भूमिकामा निर्माण कार्य सुरु गरिएको बुद्ध प्रतिमा स्थानीय समाजसेवी तथा सहयोगीहरूको संयुक्त पहलमा छोटो समयमै निर्माण सम्पन्न भएको हो ।

बौद्ध परम्पराअनुसार विधिपूर्वक पूजाआजा गरी वडा अध्यक्ष सूर्यमान तामाङ र समाजसेवी राजेन्द्र यादवले संयुक्त रूपमा बुद्ध प्रतिमा स्थलमा राखिएको शिलालेखको ब्यानर खोलेर कार्यक्रमको औपचारिक रुपमा सुरु भएको थियो । त्यसपछि वडा अध्यक्ष तामाङ, समाजसेवी यादवलगायत अतिथिहरूले संयुक्त रूपमा बुद्ध प्रतिमामा राखिएको पहिलो वस्त्रको डोरी तानेर प्रतिमाको उद्घघाटन गर्नुभएको थियो ।

उद्घघाटन कार्यक्रममा ठूलो संख्यामा स्थानीय तथा भक्तजनहरूको सहभागिता रहेको थियो । यस क्षेत्रमा पहिलोपटक बुद्ध प्रतिमा स्थापना गरी औपचारिक रूपमा उद्घघाटन भएपछि स्थानीयवासीमा खुसी छाएको छ ।

आयोजित औपचारिक कार्यक्रममा तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा बुद्ध प्रतिमा स्थापनामा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमको सुरुवातमा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सहभागी भक्तजन तथा अतिथिहरूलाई प्रसादसमेत वितरण गरिएको थियो ।

प्राकृतिक सौन्दर्य र विभिन्न स्रोत–साधनले परिचित धनगढीमाई–१३ मा बुद्ध प्रतिमाको स्थापनाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने स्थानीयवासीको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *