सुख्खा पहिरोका कारण रुख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति, दुर्घटनाको जोखिम कायमै

0Shares

थाङमिचागु डटकम संवाददाता
भिमकुमार थामि चरिकोट दोलखा

विनोद अविरल, सिराहा, भदौ ३० । सिराहाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सुख्खा पहिरोका कारण सडक छेउमा रहेको हल्लुरे (जीमहर) को रुख ढल्दा नेपाल विद्युत् प्राधिकरण लहान शाखाको प्रसारण लाइनमा क्षति पुगेको छ।

रुख ढलेर विद्युत्को तार टुटेपछि सडकमा आवतजावतमा समेत समस्या भएको छ। टुटेको तार सडक तथा आसपासको क्षेत्रमा छरिएर रहेकाले स्थानीयवासी तथा यात्रुहरूमा विद्युत् दुर्घटनाको जोखिम बढेको छ।

घटनाको जानकारी पाएलगत्तै वडाध्यक्ष अमित ठकुरी घटनास्थलमा पुग्नुभएको थियो। उहाँले घटनाको अवस्थाबारे नेपाल विद्युत् प्राधिकरण लहान शाखालाई जानकारी गराउँदै तत्काल विद्युत् प्रसारण लाइन काट्न लगाउनुभएको थियो।

वडाध्यक्ष ठकुरीका अनुसार सडक छेउमा रहेका जोखिमयुक्त दुईवटा रुख कटानका लागि एक वर्षअघि नै डिभिजन वन कार्यालय लहानमा लिखित निवेदन दर्ता गरिएको थियो। जोखिमयुक्त रुखका कारण हुनसक्ने सम्भावित दुर्घटनाबारे नेपाल विद्युत् प्राधिकरण लहान शाखालाई समेत औपचारिक रूपमा जानकारी गराइएको थियो।

तर, लामो समयसम्म जोखिमयुक्त रुख व्यवस्थापनको काम अघि बढ्न नसक्दा अहिले रुख ढलेर विद्युत् प्रसारण लाइनमै क्षति पुगेको वडाध्यक्ष ठकुरीको भनाइ छ।

यस क्षेत्रमा अझै सडक छेउमा रहेको अर्को जोखिमयुक्त रुखका कारण दुर्घटनाको सम्भावना कायमै रहेको बताइएको छ। तत्काल उक्त रुखको व्यवस्थापन नगरे थप क्षति हुनसक्ने स्थानीयवासीको चिन्ता छ।

विद्युत् तार टुटेपछि धनगढीमाई नगरपालिका–१४ का विभिन्न टोल तथा बस्तीमा विद्युत् सेवा समेत अवरुद्ध भएको छ।

स्थानीयवासीले जोखिमयुक्त रुख तत्काल हटाउन, टुटेको विद्युत् तारको शीघ्र मर्मत गर्न तथा प्रभावित टोल–बस्तीमा विद्युत् सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

स्थानीयको भनाइमा, यसअघि नै जोखिमबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समयमै आवश्यक कदम चालिएको भए अहिलेको क्षति र सम्भावित दुर्घटना टार्न सकिने थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *