नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

विनोद अविरल, भदौ १२, नुवाकोट।
भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोट, रसुवा लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।
यसै क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का वडाध्यक्ष तेजबहादुर गुरुङ, कर्मयोग फाउन्डेसनका अध्यक्ष तथा समाजसेवी शौरभ रिमाल र युवा समाजसेवी भीम कटवालसहितको टोली बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुगेको छ।
टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी बाढीपीडित नागरिकको अवस्था तथा तत्काल आवश्यकताबारे जानकारी लिएको थियो। त्यसपछि टोलीले विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको हो।
समाजसेवी भीम कटवालका अनुसार टोलीले ५० थान पावर बैंक, ५० थान त्रिपाल, ५० थान डसना, ५० थान कम्बल, ५० थान तन्ना, ५० कार्टुन चाउचाउ, ५० जोडी बालबालिकाका लुगा, ५०० जोर मोजा, ५० प्याकेट डाइपर र ५० कार्टुन बिस्कुट लगायतका मेडिकल तथा अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको आवश्यकता पहिचान गर्दै राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्नुले मानवीय एकता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। राहत अभियानमा संलग्न वडाध्यक्ष गुरुङ, समाजसेवी रिमाल, कटवालसहित सम्पूर्ण सहयोगी टोलीको पहललाई स्थानीय स्तरमा सराहनीय मानिएको छ।




