बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो !!!
2026-08-28कोशी प्रदेशका १५३ मध्ये १३८ जना अझै सम्पर्कविहीन !!!
2026-08-28
बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो !!!
बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो
१२ भदौ २०८३, शुक्रबार
काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतको ग्यिरोङ क्षेत्रमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ।
पहिरोपछि बनेको विशाल तालको पानी उद्धार टोली परिचालित क्षेत्रमा फैलिन थालेपछि उद्धारकर्मीलाई सुरक्षित स्थानमा फर्काइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। प्रभावित क्षेत्रमा परिचालित आपत्कालीन टोलीलाई समेत करिब एक किलोमिटर पछाडि हटाइएको छ।
बुधबार तिब्बतको सीमावर्ती ग्यिरोङ क्षेत्रमा माटो तथा भग्नावशेष खसेपछि पानी थुनिएर ठूलो ताल बनेको थियो। लगातार वर्षा भइरहेकाले तालको जलस्तर थप बढ्न सक्ने र बाँध फुटेमा तल्लो क्षेत्रमा पुनः बाढी आउन सक्ने जोखिम बढेको छ।
चिनियाँ अधिकारीहरूले तालको अवस्था निगरानी गर्न इन्जिनियरिङ टोली परिचालन गरेका छन्। आठ सदस्यीय प्राविधिक टोलीले हवाई सर्वेक्षण, ड्रोन र थ्रीडी मोडलिङमार्फत तालको अवस्था तथा सम्भावित जोखिमको मूल्यांकन गरिरहेको छ।
तालमा पानीको मात्रा बढ्दै गएमा ग्यिरोङ बन्दरगाहसहित तल्लो क्षेत्र प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। पानीको निकास सुरक्षित रूपमा व्यवस्थापन गर्ने उपायबारे पनि प्राविधिक टोलीले अध्ययन गरिरहेको जनाइएको छ।
उद्धार अभियान रोकिए पनि बेपत्ताको खोजीका लागि ड्रोन, तापीय तस्बिर प्रविधि तथा अन्य उपकरणको प्रयोग जारी राखिएको छ। बाढीको जोखिम कम भएपछि स्थगित खोज तथा उद्धार अभियान पुनः सञ्चालन गरिने जनाइएको छ।
नेपाल–चीन सीमा क्षेत्रमा गएको भीषण बाढी तथा पहिरोपछि दुवैतर्फ ठूलो जनधनको क्षति भएको छ। थप क्षति रोक्न दुवै देशका सम्बन्धित निकायले जोखिम क्षेत्रको निगरानी तथा उद्धार र राहत कार्यलाई प्राथमिकता दिएका छन्।
थाङ्मी चाँगु डट कम




