पत्रकारको पहलमा सीतापुर प्रहरी चौकीमा नयाँ राष्ट्रिय झण्डा फहरायो

0Shares

सीतापुर प्रहरी चौकीमा नयाँ राष्ट्रिय झण्डा फहरायो

थाङमिचागु डटकम संवाददाता

सिराहा, कार्तिक १६।
सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर प्रहरी चौकी अगाडि लामो समयदेखि च्यातिएको अवस्थामा रहेको राष्ट्रिय झण्डा अन्ततः फेरेर नयाँ झण्डा फहराइएको छ।

सम्बन्धित निकायले लामो समयसम्म बेवास्ता गरेपछि पत्रकार विनोद अविरलको पहलमा शुक्रबार साँझ नयाँ झण्डा फहराइएको हो। करिब एक हप्ता अघि पत्रकार अविरलले सो विषयमा रिपोर्टिङ गरे पनि जिम्मेवार निकायले कुनै चासो नदेखाएपछि उनले आफैं अग्रसर भएर यो कार्य सम्पन्न गरेका हुन्।

राष्ट्रिय गौरव र पहिचानको प्रतीक झण्डाको अपमान हुन नदिन पत्रकार अविरलले देखाएको सक्रियता सामाजिक जिम्मेवारी र देशप्रतिको सम्मानको उत्कृष्ट उदाहरण बनेको छ।

यस कार्यमा धनगढीमाई–९ निवासी नैंनबहादुर मोक्तानले सहयोगस्वरूप १० थान राष्ट्रिय झण्डा उपलब्ध गराएका थिए। तीमध्ये ९ वटा झण्डा सीतापुर प्रहरी चौकी परिसर अगाडि फहराइएको छ।

पत्रकार अविरलका अनुसार

दशैं, तिहार र छठ पर्वका अवसरमा स्थानीय तहले सरसफाइ अभियान चलाए पनि च्यातिएका राष्ट्रिय झण्डा परिवर्तनतर्फ ध्यान नदिनु दुःखद कुरा हो। यस्तो प्रतीकको
सम्मान गर्नु सबै नागरिकको दायित्व हो।


स्थानीय बासिन्दाहरूले पनि पत्रकार अविरलको यो कदमको प्रशंसा गर्दै राष्ट्रिय प्रतीकको सम्मान र संरक्षणप्रति जनचेतना बढाउने प्रेरणादायी कार्य भएको बताएका छन्।

नागरिक र पत्रकारको संयुक्त पहलले राज्यको उदासिनतालाई चिर्दै राष्ट्रिय गौरव र पहिचानप्रतिको जिम्मेवारीलाई उजागर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *