काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा १५ दिनको मौखिक सहमति

0Shares

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा १५ दिनको मौखिक सहमति

थाङमिचागु डटकम संवाददाता

सहरी विकासमन्त्री कुलमान घिसिङ र बन्चरेडाँडाका स्थानीयबीच काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा १५ दिनको मौखिक सहमति जुटेको छ।

आइतबार बिहान मन्त्री घिसिङ बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका थिए। स्थानीयको मागबारे प्रत्यक्ष छलफलपछि उनले १५ दिनभित्र माग पूरा गर्ने कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएपछि सहमति बनेको हो।

धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यका अनुसार यो सहमति मौखिक मात्र हो, कुनै लिखित सम्झौता वा हस्ताक्षर भएको छैन।
“महानगरसँग केही भएको छैन, सहरी विकास मन्त्रालयसँग पनि हस्ताक्षर भएको छैन। मन्त्रीको बोलीलाई जनताले सहमतिको रूपमा लिएका छन्,” मेयर आचार्यले भने।

स्थानीयले सुरुवाती रूपमा एक साताको समयसीमा दिएका थिए। तर, मन्त्रीले नयाँ जिम्मेवारी सम्हालेको र कार्ययोजना ल्याउने समय आवश्यक रहेको भन्दै १५ दिनको समय थप दिएका छन्।

यसअघि, फोहोर व्यवस्थापनका माग पुरा नभएको भन्दै चार दिनदेखि आन्दोलनरत स्थानीयले फोहोर फाल्न रोक लगाएका थिए। त्यसपछि काठमाडौं महानगरपालिकाले विज्ञप्ति जारी गर्दै घरबाट फोहोर ननिकाल्न अनुरोध गरेको थियो।

गत वार्ताका क्रममा काठमाडौं पुगेका प्रतिनिधिसँगको छलफल निष्कर्षविहीन बनेको थियो। तर आजको भेटवार्ताले कम्तीमा १५ दिनका लागि समाधानको बाटो खोलेको छ।

अब सहरी विकास मन्त्रालयले १५ दिनभित्र ठोस कार्ययोजना प्रस्तुत गर्ने र स्थानीयको माग सम्बोधन गर्ने वाचा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *