सोलुखुम्बु बोलेरो दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते

0Shares

सोलुखुम्बु बोलेरो दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते

थाङमिचागु डटकम संवाददाता

सोलुखुम्बुमा बिहीबार साँझ भएको दुःखद बोलेरो दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

मृतकमध्ये महाकुलुङ गाउँपालिका–३ छेस्कामकी १६ वर्षीया हबी राई र २० वर्षीया शान्ति राईको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अर्की एक किशोरीको पहिचान भने अझै खुलेको छैन ।

गाडी चालक महाकुलुङ–३ निवासी ३२ वर्षीय श्रीध्वज राई गम्भीर घाइते भएका छन् । यस्तै, महाकुलुङ–४ की १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया गंगा राई, १६ वर्षीया समया राई, १६ वर्षीया सजना राई र १० वर्षीय उमेश राई घाइते छन् । उनीहरूको उपचार हाल जिल्ला अस्पताल फाप्लुमा भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ करिब साढे ७ बजे माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङतर्फ जाँदै गरेको बोलेरो गाडी माप्य दूधकोशी–६ र ७ को सिमानास्थित भिरबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार बोलेरो गाडी खुम्बुबाट महाकुलुङतर्फ जाँदै गरेका यात्रु लिन माप्य पुगेको र फर्किने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा दुई जना यात्रु सकुशल रहेका छन् ।
सडक दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *