एमाले धनुषाको जिल्ला अधिवेशनमा गुटीय झडप: पाँच जना घाइते, अधिवेशनस्थल नियन्त्रणमा

0Shares

एमाले धनुषाको जिल्ला अधिवेशनमा गुटीय झडप: पाँच जना घाइते, अधिवेशनस्थल नियन्त्रणमा

थाङमिचागु डटकम संवाददाता

बैशाख २३ — नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशन मंगलबार तनावपूर्ण बन्यो, जब दुई गुटका नेता-कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भए। झडपको क्रममा केही नेताहरू कुटपिटमा परेका छन् भने अधिवेशनस्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा घाइते हुनेमा एमाले नेता भोला यादव पक्षीय सत्यनारायण महासेठ र महेश दास छन्, जसको टाउको फुटेको जनाइएको छ। त्यस्तै, निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवसमेत झडपको क्रममा कुटिएका छन्।

झडपको कारण अधिवेशनको अन्तिम नामावली प्रकाशनलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद उत्पन्न भएको बताइएको छ। विवाद चर्किएपछि कुर्सी हानाहानसम्मको अवस्था सिर्जना भएको हो। निर्वाचन समितिका सदस्यहरूलाई समेत कुर्सी प्रहार गरिएको छ।

अध्यक्ष पदका लागि भोला यादव केन्द्रीय सचिव रघुवीर महासेठको पक्षबाट उम्मेदवार छन् भने लक्ष्मीनारायण यादवलाई केन्द्रीय सदस्य उमाशंकर अरगरिया, संजीव झा (सुरज) र मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलको समर्थन रहेको छ।

झडपपछि प्रहरीले अधिवेशनस्थल नियन्त्रणमा लिएको छ र सहभागीहरूलाई बाहिर निकालिएको छ। हाल स्थिति नियन्त्रणमा रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *