विद्यार्थीका लागि अतिरिक्त े समयसीमा नराख्न सांसद गौतमको आग्रह

0Shares

विद्यार्थीका लागि अतिरिक्त े समयसीमा नराख्न सांसद गौतमको आग्रह

थाङमिचागु डटकम संवाददाता

काठमाडौं, २२ वैशाख — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सरकारले प्रस्ताव गरेको ‘कमाउँदै–पढ्दै’ नीतिमा सीमितता नलगाई कार्यान्वयन गर्न माग गरेकी छन्। संसद्मा नीति तथा कार्यक्रममाथि भएको संशोधन प्रस्तावको छलफलमा भाग लिँदै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन्।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर ६७ मा ‘कमाउँदै–पढ्दै’ को अवधारणा ल्याएको छ, जसमा विद्यार्थीले हप्तामा बढीमा २० घण्टा पार्ट-टाइम जब गर्न सक्ने उल्लेख छ। तर सांसद गौतमले यो सीमालाई आवश्यक नरहेको बताउँदै, “पार्ट-टाइम जबलाई २० घण्टामा सीमित नगरियोस्। कम्तीमा दिनको ४ घण्टा विद्यार्थीले काम गर्न सक्छन्,” भन्दै त्यसमा पाबन्दी नलगाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।

साथै उनले यस्तो रोजगारी दिने संस्थालाई कर छुट दिने व्यवस्था गर्नसमेत सुझाव दिइन्। “कामको ज्याला प्रति घण्टा अनुसार हप्तैपिच्छे दिने प्रणाली लागू होस्,” उनले भनिन्।

सांसद गौतमले नीति तथा कार्यक्रम समयमै पेश गरेर प्रभावकारी छलफल हुने पुरानै अभ्यासलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिइन्। साथै, संसद्मा सांसदहरूले प्रस्तुत गरेका संशोधन प्रस्तावलाई गम्भीरतापूर्वक लिने र उपयुक्त संशोधन स्वीकार गरिने स्पष्ट प्रतिबद्धता सरकारबाट आउनुपर्ने उनले बताइन्।

“कृपया स्पष्टसँग मन्त्रीज्यूले भन्नुहोस् — फलानो माननीयको संशोधन राम्रो लाग्यो, र हामी स्वीकार गर्छौं। यसरी मात्र संशोधनप्रतिको शंका हट्छ,” उनले संसद्मा भनिन्।

गौतमले प्रस्तुत गरेको संशोधनमा कृषि आधुनिकीकरण परियोजना, नदीजन्य स्रोत व्यवस्थापन, जलविद्युत् आयोजना, प्रमुख शहरहरूमा वेस्ट वाटर ट्रिटमेन्ट र पर्यटन नीति सुधारजस्ता विषयहरू पनि समेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *