मलेसियामा नव नियुक्त राजदूत नेत्र प्रसाद तिमल्सिनालाई संघ-संस्थाद्वारा स्वागत

0Shares

संघ-संस्थाद्वारा मलेसियामा नव नियुक्त राजदूतलाई स्वागत

थाङ्मीचागु डटकम सम्बादाता

१४ माघ २०८१, सोमबार | क्वालालम्पुर, मलेसिया
नेपाली राजदूतावास क्वालालम्पुरका लागि नव नियुक्त राजदूत नेत्र प्रसाद तिमल्सिनालाई मलेसियामा रहेका सक्रिय संघ-संस्थाले संयुक्त रूपमा भव्य स्वागत गरेका छन्।

कार्यक्रम संयोजक तथा गैरआवासीय नेपाली संघ मलेसियाका पूर्व अध्यक्ष विनोद थापाले संघ-संस्थाले विगतदेखि नै मलेसियामा आउने नयाँ राजदूतलाई स्वागत गर्ने परम्परालाई निरन्तरता दिँदै यो कार्यक्रम आयोजना गरिएको बताए।

थापाको संयोजकत्वमा विभिन्न सामाजिक, राजनीतिक संघ-संस्था र समाजसेवी व्यक्तिहरूको आर्थिक र नैतिक सहयोगमा नेपाली राजदूतावाससँगै रहेको भवनको सभाहलमा आइतवार संयुक्त स्वागत कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा सबै राजनीतिक दलका भ्रातृ संगठनका प्रतिनिधिहरू र केही व्यवसायीहरूले स्वागत मन्तव्य व्यक्त गरे। मन्तव्यका क्रममा व्यवसायी खगेन्द्र न्यौपानेले कामदारका लागि २४ घण्टे बीमा व्यवस्था गर्नुपर्ने, श्रम स्वीकृति नवीकरणका प्रावधान पुनरावलोकन गर्नुपर्ने, र मलेसियासँगको श्रम सम्झौतामा सुधारको आवश्यकता रहेको बताए।

स्वागत कार्यक्रममा राजदूतावासका डिसिएम मुद्दिता बज्राचार्य, प्रशासन प्रमुख अधिकृत प्रथम सचिव बलिराम धामीलगायतका कर्मचारीहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत नेत्र प्रसाद तिमल्सिनाले नेपाली राजदूतावास सबै नेपालीको साथी बनेर सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *