४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा

0Shares

थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड सोमबारदेखि सञ्चालनमा आएको छ।

भोटेकोसी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा गत असार ३१ गते पहिरोसँगै सडक भासिएपछि सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि सोमबारदेखि सवारीसाधन सञ्चालनमा आएका हुन्।

सडक खुलाउन ६ वटा टिपर र १२ वटा डोजर परिचालन गरिएको थियो। सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीका अनुसार डाक्लाङ क्षेत्रमा सडक सहज भइसकेको छ भने इकोमा पनि सडक खोलिएको छ। लिपिङ क्षेत्रमा पनि मर्मतसम्भारको काम शीघ्र सुरु गरिने उनले बताए।

सडक सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङपारि अझै करिब ८५ वटा कन्टेनर अलपत्र अवस्थामा छन्।

भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार बाह्रबिसे–तातोपानी सडकको २६ किलोमिटर क्षेत्रमा वर्षायाममा पटक–पटक पहिरो जाने र सडक भासिने समस्या दोहोरिँदै आएको छ। इकोमा सडक सञ्चालनमा आए पनि लिपिङ क्षेत्रको समस्या समाधान नभएसम्म तातोपानी नाका पूर्ण रूपमा सहज रूपमा सञ्चालन हुन नसक्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *