शिक्षक सरुवा विज्ञापनका लागि विद्यालयलाई सिरहा शिक्षा विकास तथा समन्वय इकाइको आग्रह

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु टडकम संवाददाता

शिक्षा विकास तथा समन्वय इकाइ सिरहाले शिक्षक सरुवा विज्ञापनसम्बन्धी प्रक्रिया अघि बढाउन जिल्लाका सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ सिरहाले पत्र जारी गर्दै शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ को नियम ९९ मा उल्लेखित शिक्षक सरुवासम्बन्धी व्यवस्थाअनुसार शिक्षक सरुवा विज्ञापन सूचना आह्वान गर्दा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको हो।

इकाइका अनुसार नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक सरुवा भई अन्यत्र गएमा, अनिवार्य अवकाश, मृत्यु, स्वेच्छिक अवकाश, प्रचलित कानुनबमोजिम सेवाबाट हटाइएको वा बर्खास्त गरिएको अवस्थामा तथा नयाँ दरबन्दी थप भएको अवस्थामा रिक्त शिक्षक पदको विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा प्रविष्ट गर्नुपर्नेछ। रिक्त पदबारे सम्बन्धित स्थानीय तहलाई समेत सात दिनभित्र लिखित जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, प्राथमिक तहको शिक्षक दरबन्दीमा महिला शिक्षक कार्यरत नरहेको वा तोकिएको संख्याभन्दा कम महिला शिक्षक कार्यरत रहेको अवस्थामा महिला शिक्षकबाट सरुवा गर्न सकिने गरी विज्ञापन सूचनामा स्पष्ट खुलाउनुपर्ने उल्लेख छ। दरबन्दी मिलानका क्रममा दरबन्दी कटौतीमा परेका वा पुल दरबन्दी कायम भई अन्यत्र स्थानान्तरण गर्नुपर्ने शिक्षकको हकमा समेत तोकिएको दरबन्दी व्यवस्थापन नभएसम्म सरुवा गर्न नपाइने इकाइले जनाएको छ।

इकाइले रिक्त पद खुला प्रतियोगिता वा बढुवाद्वारा पदपूर्तिका लागि लेखी पठाइएको हो/होइन यकिन गर्न पनि विद्यालयहरूलाई निर्देशन दिएको छ।

कुन तह र श्रेणीको शिक्षकको पद रिक्त भएको हो, सोही श्रेणी वा सोभन्दा तल्लो श्रेणीका शिक्षकलाई मात्र उम्मेदवार बनाउन सकिने व्यवस्था रहेको जनाइएको छ। विशेष बढुवा भएको शिक्षकको पद रिक्त भएमा भने त्यस्तो पदलाई तृतीय श्रेणीको पद मानिने पत्रमा उल्लेख छ।

विद्यालयहरूले शिक्षक सरुवासम्बन्धी विज्ञापन सूचना प्रकाशन गर्दा उल्लेखित मापदण्डहरू शिक्षा विकास तथा समन्वय इकाइबाट अनिवार्य रूपमा यकिन गराएर मात्र प्रक्रिया अघि बढाउनुपर्नेछ।

यसका साथै सरुवा सम्बन्धी विज्ञापन सूचना प्रकाशन गर्ने विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको हुनुपर्ने तथा सरुवासम्बन्धी सूचना विद्यालय, सम्बन्धित स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको वेबसाइटमा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ।

इकाइले शिक्षक सरुवा विज्ञापनसम्बन्धी विस्तृत जानकारीका लागि शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ अध्ययन गर्न समेत सम्बन्धित विद्यालय तथा सरोकारवालालाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *