स्वाद सुगन्ध र आम्दानीको संगम सिलटिमुर खेतीमा बढ्दो आकर्षण

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

नेपालका मध्यपहाडी क्षेत्रमा प्राकृतिक रूपमा पाइने तथा व्यावसायिक रूपमा खेती गर्न सकिने सिलटिमुर (टिमुर) पछिल्ला वर्षहरूमा उच्च आर्थिक सम्भावना बोकेको नगदे बालीका रूपमा स्थापित हुँदै गएको छ। विशिष्ट स्वाद, मनमोहक सुगन्ध र बहुउपयोगी औषधीय गुणका कारण यसको माग स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि निरन्तर बढिरहेको छ।

युरोप, अमेरिका, जापानलगायतका मुलुकमा नेपाली सिलटिमुरको निर्यात विस्तार हुन थालेपछि यसको व्यावसायिक सम्भावना थप उजागर भएको छ। गुणस्तरीय उत्पादनको बढ्दो मागले किसानलाई सिलटिमुरको व्यावसायिक खेतीतर्फ आकर्षित गरिरहेको छ।

बाँझो, पाखो तथा भिरालो जमिनमा समेत कम लगानी र न्यून श्रममा उत्पादन गर्न सकिने भएकाले सिलटिमुर ग्रामीण क्षेत्रका किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। अन्य बालीको तुलनामा कम लागतमा राम्रो प्रतिफल प्राप्त हुने भएकाले यसको खेती विस्तार हुँदै गएको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।

सिलटिमुरबाट निकालिने सुगन्धित तेल अत्तर, सौन्दर्य सामग्री, मसला तथा विभिन्न औषधिजन्य उत्पादनमा प्रयोग हुने भएकाले यसको औद्योगिक महत्वसमेत बढ्दै गएको छ। यसले किसान, व्यवसायी तथा निर्यातकर्ताबीच सिलटिमुरप्रतिको आकर्षण अझ बढाएको छ।

कृषि विज्ञहरूका अनुसार सिलटिमुरको व्यवस्थित व्यावसायिक खेती विस्तार, आधुनिक प्रशोधन प्रविधिको विकास, गुणस्तर मापदण्डको प्रभावकारी कार्यान्वयन तथा सुदृढ बजारीकरणमा जोड दिन सके यसले किसानको आयआर्जन उल्लेखनीय रूपमा वृद्धि गर्नुका साथै नेपालको कृषि उपज निर्यात प्रवर्द्धन र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *