अकबरे खुर्सानी खेतीबाट किसानको आम्दानी बढ्दै
2026-08-05गौरीशंकर माविका विद्यार्थीलाई शस्त्र प्रहरीद्वारा विपद् सचेतना
2026-08-05
भदौ पहिलो साताअघि जुम्लाबाट काँचो स्याउ निकासीमा रोक, गुणस्तरीय स्याउ मात्र निर्यात गरिने
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

जुम्ला — जुम्लाबाट काँचो स्याउको निकासी रोक्दै परिपक्व, गुणस्तरीय र स्वादिलो स्याउ मात्र बाहिरी बजारमा पठाउने निर्णय गरिएको छ। जुम्लाली स्याउको गुणस्तर र पहिचान जोगाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको सरोकारवालाको बैठकले पाँचबुँदे निर्णय गरेको हो।
निर्णयअनुसार पूर्ण रूपमा परिपक्व, स्वादिलो, गुणस्तरीय, आकारमा ठूलो तथा राम्रोसँग रङ लागेको स्याउ मात्र निर्यात गर्न पाइनेछ। साथै, भदौ महिनाको पहिलो साताअघि जुम्लाबाट कुनै पनि स्याउ बाहिरी बजारमा निकासी नगर्ने व्यवस्था गरिएको छ।
बैठकले स्याउ निर्यातका लागि कृषि प्राविधिकको सिफारिस, स्याउको जात, उत्पादन भएको क्षेत्र तथा गुलियोपनाका आधारमा मात्र अनुमति दिने निर्णयसमेत गरेको छ। यसबाट जुम्लाली स्याउको गुणस्तर कायम राख्न, उपभोक्ताको विश्वास बढाउन तथा बजारमा यसको प्रतिष्ठा थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरोकारवालाले समयअघि काँचो स्याउ बजारमा पुग्दा जुम्लाली स्याउको स्वाद र गुणस्तरप्रति उपभोक्तामा नकारात्मक सन्देश जाने भएकाले यस्तो निर्णय आवश्यक भएको बताएका छन्।
बैठकले किसान, व्यापारी तथा सम्बन्धित निकायलाई निर्णयको पूर्ण पालना गर्न आग्रह गर्दै गुणस्तरीय स्याउ उत्पादन, उचित बजारीकरण र जुम्लाली स्याउको पहिचान संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।




