अकबरे खुर्सानी खेतीबाट किसानको आम्दानी बढ्दै
2026-08-05गौरीशंकर माविका विद्यार्थीलाई शस्त्र प्रहरीद्वारा विपद् सचेतना
2026-08-05
सुनवलमा साउन २४ गते ३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइने, प्रभातफेरीदेखि सांस्कृतिक कार्यक्रमसम्म आयोजना हुने
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

नवलपरासी — नेपाल आदिवासी जनजाति महासङ्घ, जिल्ला समन्वय परिषद् नवलपरासीले साउन २४ गते सुनवलमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ।
“प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माण हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको महासङ्घले जनाएको छ।
दिवसको तयारीबारे जानकारी दिन बुधबार भूमहीस्थित एटलास होटेलमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घकी जिल्ला अध्यक्ष टिचन गुरुङले जिल्लाका सातवटा एकल जातीय संगठनले आफ्ना मौलिक भेषभूषासहित सुनवल चोकबाट प्रभातफेरी सुरु गरी महामाया रिसोर्टमा पुगेर औपचारिक कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो।
उहाँले आदिवासी जनजाति समुदायका मौलिक संस्कार, संस्कृति, परम्परा तथा इतिहासको संरक्षणमा स्थानीय तहले अपेक्षित चासो नदेखाएको गुनासो गर्दै जिल्लाका सातवटै स्थानीय तहमा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न आवश्यक बजेट विनियोजनको मागसहित पत्राचार गरिएको बताउनुभयो।
पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा महासङ्घका सल्लाहकार एवम् सुनवल नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर थापाले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को महासन्धि–१६९ तथा नेपालको संविधानले आदिवासी जनजाति समुदायलाई प्रदान गरेका हक–अधिकारको प्रभावकारी कार्यान्वयनमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो।
महासङ्घका जिल्ला सचिव उपेन्द्र प्रधानको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार देवराज चौधरी, मिलन गुरुङ, थारु कल्याणकारी समाजका मुन्द्रिका चौधरी, नेपाल मगर सङ्घका चनबहादुर गाहा मगर, गुरुङ राष्ट्रिय परिषद्का उदिमबहादुर गुरुङ, नेवा देय दबूका शेषनारायण श्रेष्ठ, सोम गुरुङलगायत विभिन्न जातीय संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।




