मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
रास्वपा–राप्रपाका सांसदहरूको शैलीप्रति सत्तारुढ सांसदहरूको प्रश्न
रास्वपा–राप्रपाका सांसदहरूको शैलीप्रति सत्तारुढ सांसदहरूको प्रश्न
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, ३० असार — प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दलका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूको सदनमा प्रस्तुत कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।
बैठकको आकस्मिक तथा शून्य समयमा सांसदहरूले धारणा राखेपछि सदन बहिष्कार गर्ने प्रवृत्तिलाई “नौटंकीपूर्ण” व्यवहारको संज्ञा दिँदै आलोचना गरेका हुन्।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले बोलेपछि त्यही सदन बहिष्कार गर्ने कार्य अस्वीकार्य भएको बताए। “बोल्नका लागि सदन चाहिन्छ, बोलेपछि त्यही सदन बहिष्कार गर्ने कार्य नाटक मात्र हो,” उनले भने। साथै, बैठकको सुरुमा अन्य दलका सांसदलाई बोल्न दिइए पनि प्रमुख दलहरूलाई नबोल्न दिइएकोप्रति उनले आपत्ति पनि जनाए।
सत्तारुढ दल नेकपा एमालेकी सांसद ज्वाला कुमारी साहले पनि केही सांसदले व्यक्तिगत गल्तीलाई लिएर सरकारलाई बदनाम गर्न खोजेको आरोप लगाइन्। “एकजनाको गल्तीका आधारमा पूरै सरकारमाथि आरोप लगाउनु गलत हो,” साहको भनाइ थियो। उनले मिडिया प्रचारको लागि सदनमा अनावश्यक विषय उठाउने प्रवृत्तिबाट सचेत रहन आग्रह गरिन्।
बैठकको शून्य समयमा समेत सत्तारुढ दलका अन्य सांसदहरूले रास्वपा र राप्रपाका सांसदहरूले सदनमा आएर धारणा राख्ने र तुरुन्तै बहिष्कार गर्ने कार्य गम्भीरता र जिम्मेवारीविहीन व्यवहार भएको टिप्पणी गरेका थिए।
सत्तापक्षको यस्तो आलोचना आएको समयमा विपक्षी दलका सांसदहरू भने सरकार र संसदमा उत्तरदायित्व नदेखिएको भन्दै विरोधमा उत्रिरहेका छन्।





