संघीय जनगणतन्त्रको विकल्प राजतन्त्र र बुर्जुवा गणतन्त्र हुन सक्दैन : सिपी गजुरेल

0Shares

संघीय जनगणतन्त्रको विकल्प राजतन्त्र र बुर्जुवा गणतन्त्र हुन सक्दैन : सिपी गजुरेल

थाङमिचागु डटकम संवाददाता

काठमाडौं, ३० असार — क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले संघीय जनगणतन्त्रको विकल्पमा पश्चगामी राजतन्त्र र बुर्जुवा लोकतन्त्र कल्पनै गर्न नसकिने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गजुरेलले नेपालका सबै क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूलाई एकजुट भई जनगणतन्त्र स्थापनाका लागि अघि बढ्न आह्वान गरे।

पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा संवाद डबलीमा आयोजित अन्तरक्रियामा ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ शीर्षक कार्यपत्रमाथि छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै गजुरेलले १० वर्ष लामो जनयुद्धको लक्ष्य पूरा नभएको र त्यसमा प्रचण्ड–बाबुराम नेतृत्वले गरेको सम्झौताले धोका दिएको आरोप लगाए।

“प्रचण्ड र बाबुरामहरूले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सम्झौता गरेर महान् जनयुद्धमाथि धोका दिए,” गजुरेलले भने, “यदि त्यसबेला जनगणतन्त्र ल्याउन सकिएको भए आज राजतन्त्रको भूत नउठ्थ्यो, न दलाल पुँजीवादले देश कंगाल बनाउने मौका पाउँथ्यो।”

कार्यक्रममा क्रान्तिकारी धारका नेताहरूबीच वर्तमान दलाल संसदीय व्यवस्थाको विकल्प र आगामी कार्यदिशाबारे व्यापक छलफल भएको थियो।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले कार्यपत्रले विकल्पको स्पष्ट खोजी गरेको बताए। उनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षा गर्न नयाँ कार्यक्रम र कार्यनीति आवश्यक रहेको बताए।

नेकपा (मशाल)का प्रवक्ता रामप्रकाश पुरीले कार्यपत्रमा ऐतिहासिक विश्लेषण सशक्त भए पनि ‘अब के गर्ने?’ भन्ने प्रश्नमा स्पष्टता आवश्यक रहेको धारणा राखे। यस्तै, नेकपा (ऋषि कट्टेल)का उपाध्यक्ष शम्भु कट्टेलले राजनीतिक लक्ष्य प्रस्ट भए पनि त्यसमा पुग्ने बाटो अझै अस्पष्ट रहेको उल्लेख गरे।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सदस्य राजकुमार हिङ्वाङले संघीय जनगणतन्त्रबारे अझ व्यापक समीक्षा र बहस आवश्यक रहेको बताए। नेकपा (विप्लव)का केन्द्रीय सदस्य चिरञ्जीवी सिलिले पुँजीवादले आफ्ना विकल्प दिइसकेको तर कम्युनिस्टहरूले दिन नसकेको भन्दै एकताको आवश्यकता औंल्याए।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य केदार खतिवडाले जनयुद्ध र जनआन्दोलनको उद्देश्य संसदीय व्यवस्था थिएन भन्ने तर्क राख्दै संघीय जनगणतन्त्र आजको आवश्यकता भएको उल्लेख गरे। कार्यक्रमको सञ्चालन पार्टी केन्द्रीय सदस्य पेशल दाहालले गरेका थिए भने स्वागत मन्तव्य अर्का केन्द्रीय सदस्य बन्धुदेव पाण्डेले दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *