राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
पालिका अध्यक्षको “गुण्डागर्दी शैली”: पत्रकारलाई काट्ने चेतावनी, प्रहरीसँग बन्दुक मागेको भिडियो सार्वजनिक ।।।
पालिका अध्यक्षको “गुण्डागर्दी शैली”: पत्रकारलाई काट्ने चेतावनी, प्रहरीसँग बन्दुक मागेको भिडियो सार्वजनिक ।।।
थाङकिचागु डटकम संवाददाता

विनोद मण्डल, जेठ १०, नवलपरासी (पश्चिम):
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दीपक) पुनः विवादमा तानिएका छन् । हालसालै एक सार्वजनिक कार्यक्रममा उनले जिल्ला बाहिरका पत्रकारहरूमाथि अपमानजनक तथा हिंसात्मक भाषा प्रयोग गर्दै “तलमाथि ६ इन्च काट्ने” धम्की दिएका छन् । उक्त अभिव्यक्तिको भिडियो सार्वजनिक भइसकेको छ, जसले लोकतन्त्रको मेरुदण्ड प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको स्पष्ट देखिन्छ ।
अध्यक्ष गुप्ताले यति मात्रैमा नअडिएर आफू फेरि ६ वर्ष जेल जान तयार रहेको उल्लेख गर्दै नेपाल प्रहरीसँग बन्दुक मागेको भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रहरीले उनलाई उनी सवार हुने गाडीसम्म उनलाई लैजाँदै गरेको दृश्य समेत कैद गरिएको छ ।
यसरी एक सार्वजनिक पदमा बसेको व्यक्तिले सार्वजनिकरूपमा पत्रकारमाथि हिंसात्मक भाषा प्रयोग गर्नु र प्रहरीसँग हतियार माग्नु लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी शासनको घोर उल्लंघन हो ।
अध्यक्ष गुप्ताको अभिव्यक्तिलाई लिएर स्थानीय नागरिक समाज र आम जनता आक्रोशित छन् । उनीहरूले यस्तो गैरजिम्मेवार र आपराधिक मनोवृत्तिका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल कानुनी कारबाही अगाडि बढाउन प्रशासनसँग माग गरेका छन् ।
सार्वजनिक प्रमाणस्वरूप भिडियोसमेत उपलब्ध हुँदा पनि हालसम्म कुनै ठोस कानुनी प्रक्रिया सुरु नहुनु प्रशासनको निष्क्रियता र दबाबको संकेत हो भनी आलोचना भइरहेको छ ।
अध्यक्ष गुप्ताको अभिव्यक्तिले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष खतरा उत्पन्न गरेको छ । पत्रकारहरूलाई डर, धम्की र हिंसाको भाषा प्रयोग गरी दवाउन खोज्नुले लोकतान्त्रिक प्रक्रियामा गम्भीर चुनौती खडा भएको छ ।
पालिका अध्यक्ष गुप्ताले अपनाएको शैली र शब्द प्रयोगले उनी सार्वजनिक जिम्मेवारीभन्दा बाहिर जान थालेको स्पष्ट देखिन्छ । आम नागरिकको अधिकार र पत्रकारको सुरक्षालाई दृष्टिगत गर्दै सम्बन्धित निकायले यथाशीघ्र कानुनी प्रक्रिया अगाडि बढाउनु जरुरी छ ।




