नोरा फतेहीलाई नेपाली झण्डा प्रदान गर्दै सम्मान, आयोजकले व्यक्त गरे भावुक आभार
११ जेठ आइतबार २०८२
काठमाडौं — नेपालमा आयोजित एक विशेष सांस्कृतिक कार्यक्रममा बलिउडकी चर्चित कलाकार नोरा फतेहीलाई नेपाली राष्ट्रिय झण्डा प्रदान गरी भव्य स्वागत तथा सम्मान गरिएको छ। उक्त सम्मान कार्यक्रममा सहभागी नेपालीहरूले नोरा फतेहीको सादगी, सहयोगी भावना, र मिठो बोलीप्रति प्रशंसा गर्दै, गर्व र हर्ष व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी तथा आयोजक सदस्य माया थामीले सामाजिक सञ्जालमार्फत लेखेकी छन्,
“नोरा फतेहीज्यूलाई हाम्रो राष्ट्रिय झण्डा दिँदै स्वागत गर्दा हामी सबै नेपाली झनै धेरै खुशी अनि गर्व महसुस गरिरहेका थियौं। हजुरको शालिनता, आत्मीय व्यवहार, र उच्च सोचप्रति हामी नतमस्तक छौं।”
उहाँले नोरा फतेहीसँगको भेट आत्मीय अनुभूति रहेको उल्लेख गर्दै थप लेखेकी छन्,
“टाढाबाट हेर्दा जति राम्रो लाग्नुहुन्थ्यो, नजिक सँगै हुँदा झन आत्मीय र सरल लाग्नुभयो। हामी आयोजकहरूबाट केही कमी कमजोरी भएमा क्षमा चाहन्छौं। तर तपाईहरूले देखाउनु भएको माया, साथ र समर्थन हामी कहिल्यै बिर्सने छैनौं।”
कार्यक्रममा हजारौं दर्शकहरूको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार यो हालसम्मको सबैभन्दा भव्य सांस्कृतिक कार्यक्रम थियो र आगामी दिनहरूमा अझ उत्कृष्ट आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
नोरा फतेहीको साथमा रहेको टिम, विशेषगरी Worldwide Films Network by Dev Magar and Manish Karki, तथा Human Respect Nepal प्रति पनि आयोजकले आभार व्यक्त गरेका छन्।
कार्यक्रम समापनका क्रममा माया थामीले भनिन्,
“हामी कहिल्यै हार मान्नेछैनौं। सिकाइ र भोगाइबाट अगाडि बढ्नेछौं। यहि भरोसाले हामी आगामी दिनहरूमा अझ उत्कृष्ट कार्यक्रम ल्याउनेछौं।”
कार्यक्रमपछि नोरा फतेहीलाई सुरक्षित यात्राको शुभकामना दिइएको छ।