शिक्षक महासङ्घको सडक आन्दोलन आज पनि निरन्तर हुने , वार्ताको भ्रममा नपर्न अध्यक्ष लक्ष्मी किशोर सुवेदी शिक्षकहरुलाई आग्रह

0Shares

काठमाडौं। सरकारसँग वार्तामा बस्न अस्वीकार गरेको नेपाल शिक्षक महासंघले आन्दोलनलाई आज बिहीबार पनि निरन्तरता दिने भएको छ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका विभिन्न माग राखी महासंघको अगुवाइमा देशभरका शिक्षक–कर्मचारीहरू आन्दोलित छन्। उनीहरुले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्।

त्यसअनअनुसार बुधबार माइतीघरबाट जुलुस निकालिएको थियो। वानेश्वरतिर जाने क्रममा प्रहरीले जुलुसलाई रोक्ने प्रयास गरेको थियो। जुलुसपछि विरोध सभा आयोजना गरिएको थियो। सभाका वक्ताहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका थिए।

आज बिहीबार पनि ११ बजे माइतीघरमा भेला भएइर प्रदर्शन गरिने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए। उनले प्रदर्शनमा उपस्थितिका लागि शिक्षक–कर्मचारीहरुलाई आह्वान गरेका छन्।

अध्यक्ष सुवेदीले भनेका छन्–

‘सरकार जोसुकैको होस्, सत्ता सञ्चालकहरु पेसागत आन्दोलनलाई बोझ सम्झन्छन्। निषेध गर्न खोज्छन्। कुनै तह र तप्काले आफ्ना माग नउठाउन् र आफ्नो सत्ता बिना बाधा चलिरहोस्, सत्ताको सुकोमल बिछ्यौनामा चैनको निन्द्रा सुतिरहन पाइयोस् भन्ने चाहना राख्छन्। हामी त्यही सोच र व्यबहार विरुद्ध लडिरहेका छौं।

कुनै प्रायोजित हल्ला र षडयन्त्रलाई विश्वास नगरी आन्दोलनको मोर्चामा यथावत् जुटिरहन हामी सबै आन्दोलनकारी शिक्षक–कर्मचारी साथीलाई आग्रह गर्दछौं।

मनन गरौं– ‘मेरो आन्दोलन मेरो सहभागिता’

‘बलियो उपस्थिति, बलियो आन्दोलन– बलियो आन्दोलन, बलियो उपलब्धि।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *