रोकिएन शिक्षक आन्दोलन, नयाँ शैक्षिक सत्र प्रभावित हुने सम्भावना बढ्यो ।

0Shares

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत मागसहित काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले आज आइतबार पनि प्रदर्शन गर्दैछ।
देशभरबाट भेला भएका शिक्षक–कर्मचारीहरूको सहभागिता मध्याह्न १२ बजे काठमाडौंको माइतीघरमा भेला भइ जुलुस प्रदर्शन गरिने भएको छ।
जुलुस वानेश्वरतर्फ गएर विरोध सभाका रुपमा परिणत हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उक्त सभा दिउँसो ३ बजे समापन गरिने जनाइएको छ।
सभा समापनपछि ४ बजे रत्नराज्य माध्यमिक विद्यालय मध्यबानेश्वरमा समीक्षा बैठक गरिने भएको छ। बैठकमा राष्ट्रिय समितिका प्रतिनिधि, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरु, प्रदेश आन्दोलन परिचालन समितिका संयोजकहरु, जिल्ला आन्दोलन परिचालन समितिका संयोजकहरुको सहभागिता हुने महासंघले जनाएको छ।
वार्ता र संवाद भएको भन्ने कुराको भ्रममा नपर्न अध्यक्ष सुवेदीले आग्रह गरेका छन्। आफूहरुले राखेका पूर्व सर्तबारे सरकारले स्पष्ट पारेपछि मात्र वार्ता हुन सक्ने अडान महासंघको छ।
आन्दोलन कार्यक्रमबारे सन्देश जारी गर्दै अध्यक्ष सुवेदीले भनेका छन्–
सञ्जालमा आउने सबै समाचार सत्य हुँदैन र अहिले आन्दोलन कमजोर बनाउने षडयन्त्रहरु समेत भइरहेका छन्। त्यसैले अनाधिकृत समाचारहरुलाई नपत्याउनु हुन अनुरोध छ। वार्ता र संवाद भएको भन्ने समाचारको भ्रममा नपर्न सबै मित्रहरुमा अनुरोध छ। हामीले राखेका पूर्व शर्तका बारे सरकारले आफूलाई स्पष्ट पारेपछि मात्र वार्ता हुनसक्ने कुरा हामीले बारम्बार भनिरहेका छौ।
आदरणीय साथीहरु, हामीलाई थाक्ने सुविधा छैन। आठ महिना लगातार शिक्षक आन्दोलन भएका विश्व उदाहरणहरु छन्। हामी त आज बाह्रौं दिनमा छौं। हाम्रै देशमा राजनीतिक परिवर्तनका आन्दोलन पनि लामालामा भएका हुन्। परिणाम नलिई विद्यालय फर्कने सुविधा हामीलाई छैन। आउन बाँकी आफ्ना साथीलाई फोन गरी बोलाउनुहोला। अब झन् निर्णायक बल चाहिएको छ।
‘मेरो आन्दोलन मेरो सहभागिता’, ‘बलियो उपस्थिति, बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि’

Leave a Reply

Your email address will not be published. Required fields are marked *