नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कालिन्चोक गाउँपालिकामा ४५ कृषकलाई २०० बोट हाडे बदामको बिरुवा वितरण
कालिन्चोक गाउँपालिकामा ४५ कृषकलाई २०० बोट हाडे बदामको बिरुवा वितरण
थाङ्मीचागु डटकम सम्बादाता
२ पुष मङ्गलबार २०८१


दोलखा,नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत कालिन्चोक गाउँपालिका–१ मा गठित ८ कृषक समूहका सदस्यहरूमध्ये ४५ जना कृषकलाई दीपजङ साना कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष कर्ण बहादुर थामीको अध्यक्षतामा २०० बोट हाडे बदामको बिरुवा वितरण गरियो।


बिरुवा वितरणसँगै कृषकहरूलाई रोपण, संरक्षण, र व्यावसायिक कृषि उत्पादनमा संलग्न गराउने उद्देश्यले प्राविधिक सल्लाह तथा मार्गदर्शन पनि प्रदान गरिएको थियो। कार्यक्रमका लागि प्राविधिक सहयोग कृषि प्राविधिक अस्मिता बस्नेतले प्रदान गरेकी थिइन्।

कार्यक्रमको मुख्य उद्देश्य जलवायु अनुकूलित कृषि प्रविधिको प्रवर्द्धन गर्नु रहेको बताइएको छ। स्थानीय हावापानीको विश्लेषणका आधारमा हाडे बदाम खेती यहाँको जलवायुका लागि उपयुक्त देखिएकोले बिरुवाहरू वितरण गरिएको हो। हाडे बदामको खेतीले जलवायु अनुकूलित खेती प्रणालीलाई अघि बढाउने र कृषकहरूको आर्थिक अवस्थामा सुधार ल्याउन योगदान पुर्याउने विश्वास गरिएको छ।

कृषि प्राविधिक अस्मिता बस्नेतका अनुसार, “यो क्षेत्रको माटो र हावापानी हाडे बदाम खेतीका लागि विशेष अनुकूल छ। यसलाई व्यवसायिक रूपमा विकास गर्न सके कृषकहरूको आयस्रोत बढाउन सहयोग पुग्नेछ। बिरुवा रोपणमा उचित सल्लाह र व्यवस्थापनमार्फत उत्पादनलाई प्रभावकारी बनाउन निरन्तर अनुगमन गरिनेछ।”

कार्यक्रममा सहभागी कृषकहरूले बिरुवाको उचित हेरचाह गर्दै उत्पादन बढाउन प्रतिबद्धता जनाएका छन्। यस कार्यले कृषकहरूको आत्मनिर्भरता र व्यावसायिक कृषितर्फको रुचिलाई अझ प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

यो कार्यक्रमले ग्रामीण क्षेत्रका कृषकहरूलाई आधुनिक र जलवायु अनुकूल कृषि प्रणालीमा प्रोत्साहन गर्दै, उनीहरूको जीवनस्तरमा सुधार ल्याउने दिशामा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। थाङ्मीचागु डटकमलाई जानकारी दिँदै, अस्मिता बस्नेतले यो खेतीले दिगो कृषि विकासमा टेवा पुर्याउने बताउनुभयो।






