अनेमसंघ दोलखाद्वारा महिला हिंसाविरुद्ध प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाइयो

0Shares

अनेमसंघ दोलखा जिल्ला कमिटीद्वारा महिला हिंसाविरुद्ध ध्यानाकर्षणपत्र बुझाइयो

बिहिवार २० मंसिर २०८१

थाङ्मीचागु डटकम सम्बादाता

दोलखा, मंसिर २० – अनेमसंघ (अखिल नेपाल महिला संघ) जिल्ला दोलखाले महिलाविरुद्ध बढ्दै गएको हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय, चरिकोटमा एक प्रेस विज्ञप्ति बुझाएको छ।

जिल्ला अध्यक्ष मेनुका सुबेदीको नेतृत्वमा प्रदेश कमिटी सदस्य पार्वती खड्का, जिल्ला इन्चार्ज पुरणिमा खरेल, उपाध्यक्ष रमा शिवाकोटी, सचिव तारा कोइराला, सदस्य लक्ष्मी थापा लगायतको टोलीले उक्त विज्ञप्ति जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो।

प्रेस विज्ञप्तिमा घरेलु हिंसा, यौन दुर्व्यवहार, बोक्सीको आरोप, दाइजोका नाममा हुने हिंसा, कार्यस्थलमा हुने दुर्व्यवहार, बलात्कार, तथा सार्वजनिक र निजी जीवनमा महिलामाथि भइरहेको अन्याय र अत्याचारका घटनाहरूमा चासो व्यक्त गर्दै सरकार र सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ।

टोलीले महिला हिंसाका घटनाहरूले समाजमा नकारात्मक प्रभाव पार्दै महिलाको आर्थिक, सामाजिक, र मानसिक अवस्थालाई कमजोर बनाएको उल्लेख गर्दै सरकारसँग हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी कार्यान्वयन गर्न र पीडितलाई राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न विशेष योजना बनाउन आग्रह गरेको छ।

अध्यक्ष मेनुका सुबेदीले भनिन् – “महिलाविरुद्धको हिंसाका घटनाहरू गम्भीर समस्या बनिरहेका छन्। हामीले सरकार र प्रशासनलाई यस विषयमा सचेत गराउन यो विज्ञप्ति बुझाएका हौँ। अब प्रशासनले यस विषयमा ठोस कदम चाल्नेछ भन्ने विश्वास छ।”

प्रेस विज्ञप्ति बुझाइसकेपछि टोलीले महिला अधिकारको संरक्षणका लागि जिल्लामा सचेतना कार्यक्रम सञ्चालन गर्ने, हिंसा पीडित महिलाहरूलाई कानूनी सहयोग र परामर्श प्रदान गर्ने, र महिला सशक्तीकरणका लागि दीर्घकालीन योजना बनाउने विषयमा छलफल पनि गरेको छ।

अनेमसंघ दोलखाको यस पहललाई स्थानिय तहका संघसंस्था र नागरिक समाजले सकारात्मक रूपमा लिएको छ। यसले महिलाविरुद्धको हिंसा न्यूनीकरण गर्दै सामाजिक न्याय र समानताको दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *