ललितपुरमा बाढी र पहिरोले ४० जनाको मृत्यु, अझै १० जना बेपत्ता

0Shares

ललितपुरमा बाढी र पहिरोले ४० जनाको मृत्यु, अझै १० जना बेपत्ता

थाङ्मीचागु डटकम सम्बादाता

ललितपुर, असोज १५, २०८१
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ललितपुरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ भने अझै १० जना बेपत्ता भएका छन्।

महांकाल गाउँपालिका–२ बस्ने ९ वर्षीय आयुष स्याङ्तान, महांकाल–२ ठोस्ने खोला क्षेत्रका ४० वर्षीय राममाया स्याङ्तान, उनका १४ वर्षीय छोरा अजय स्याङ्तान, ११ वर्षीय छोरा सुवास स्याङ्तान र ९ वर्षीया छोरी सलिना स्याङ्तानको शव फेला परेको छ। साथै, महांकाल गाउँपालिका–३ गोटिखेलबाट बेपत्ता भएका ईश्वर तिमल्सिनाको शव पनि भेटिएको छ।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार बाढी र पहिरोका कारण १० जना अझै बेपत्ता रहेका छन्, जसको खोजी कार्य जारी छ। विपद्मा परेर ३ जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ। घाइतेहरूमा ६ वर्षीय मेघना शाह, ३४ वर्षीय ठुलीमाया रुम्बा, र ४२ वर्षीय भूषण अर्याल रहेका छन्।

बेपत्ता व्यक्तिहरूको सूची:

  1. सेतु साह (५ वर्ष), ललितपुर महानगर–१४, नखिपोट
  2. देवराज कार्की (४० वर्ष), ओखलढुंगा घर भएका
  3. बिकाउ साह (३२ वर्ष), रौतहट घर भएका
  4. ईश्वर तिमल्सिनाको आमा, महांकाल–३ गोटीखेल
  5. गोम तिमल्सिना (ईश्वर तिमल्सिनाकी पत्नी)
  6. विवेक सिंह (३० वर्ष), आनन्दबन अस्पतालमा कार्यरत
  7. केशव न्यौपाने (५० वर्ष), बागमती गाउँपालिका–१, घुसेल
  8. संजिता स्याङ्तान (१२ वर्ष), महांकाल–२
  9. छविलाल स्याङ्तान (३५ वर्ष), महांकाल गाउँपालिका–२
  10. छविलाल स्याङ्तानकी भाउजू (नाम नखुलेको)

सरकारी उद्धार टोलीले थप खोजी कार्यलाई तीव्र बनाएको छ भने स्थानीय बासिन्दाहरू पनि उद्धारमा सक्रिय छन्। बाढी र पहिरोले ललितपुरका विभिन्न क्षेत्रहरूमा ठूलो भौतिक क्षति पुर्‍याएको छ, जसले गर्दा दैनिक जीवनमा पनि गम्भीर असर परेको छ।

यो विपद्को सामना गर्नका लागि स्थानीय प्रशासनले राहत वितरण र उद्धारका कामलाई प्राथमिकतामा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *