थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
खाेपाचागु स्वास्थ्य चाैकीमा कर्मचारी अभावले दैनिक सेवा प्रभावित ।।।
खाेपाचागु स्वास्थ्य चाैकीमा कर्मचारी अभावले दैनिक सेवा प्रभावित
थाङ्मीचागु डटकम सम्बादाता
शनिबार ५ असोज २०८१ दोलखा जिल्ला विगु गाउँपालिका अन्तर्गत रहेको खोपाचागु स्वास्थ्य चौकीमा कर्मचारी अभावका कारण सुरक्षित प्रसूति सेवा, आकस्मिक स्वास्थ्य सेवा, साथै दैनिक ओपीडी सेवा समेत प्रभावित भएको छ। यस स्वास्थ्य संस्थामा ६ जना कर्मचारीको दरबन्दी भए तापनि, केही समययता कर्मचारी अभाव देखिँदा स्थानीय जनताले नियमित स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको हो।
स्वास्थ्य चौकीका इन्चार्ज सि.अ.हे.व लिला बहादुर थामीले दिनुभएको जानकारीअनुसार, १ जना हेल्थ असिस्टेन्ट (H.A), २ जना अहेव, २ जना अनमी, र १ जना परिचर गरी ६ जना कर्मचारीको दरबन्दी रहेको भए तापनि, हाल तीन जना कर्मचारी सरुवा भएर अन्यत्र गएका छन्। दरबन्दीमा कार्यरत H.A, १ जना अहेव, र १ जना अनमी गरी ३ जना कर्मचारी अन्यत्र सरुवा भएसँगै स्वास्थ्य चौकीमा कर्मचारी अभाव भएको हो। साथै, बागमती प्रदेश सरकारको कार्यक्रम अन्तर्गत अस्थायी रूपमा खटिएका डाक्टर, स्टाफ नर्स, ल्याब टेक्निसियन, र कार्यालय सहयोगी गरी ४ जना कर्मचारीको कार्यक्रम अवधि सकिएपछि फिर्ता गएका कारण समस्या झन् गहिरिएको छ। हाल गाउँपालिकाको आन्तरिक स्रोतबाट तलब खुवाउने व्यवस्था गर्दै कार्यालय सहयोगी कुमारी बुढाथोकीलाई भने चौकीमा यथावत राखिएको छ।
स्वास्थ्य चौकीका इन्चार्ज लिला बहादुर थामीले हाल तीन जना कर्मचारीले सेवा सञ्चालन गर्न कठिनाई भोगिरहेको बताए। उहाँले भने, “स्वास्थ्य चौकीमा कर्मचारीको अभावका कारण सेवाहरू प्रभावित भएका छन्। मैले स्वास्थ्य चौकीका अतिरिक्त वडा सचिवका सम्पूर्ण जिम्मेवारीसमेत धान्नुपर्ने भएको छ। जन्मदर्ता, मृत्युदर्ता, सिफारिसलगायतका सेवा दिने प्रयास गरिरहेको छु, तर यो अप्ठेरो काम हो।”
उहाँले रिक्त रहेका पदहरूमा तत्काल कर्मचारीको पदपूर्तिका लागि सम्बन्धित निकायमा जानकारी गराइसकेको र ध्यानाकर्षण गराइसकेको जानकारी दिनुभयो। यसका साथै, विगु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रत्न बहादुर थामीले विगु गाउँपालिकाभरका स्वास्थ्य संस्थामा कर्मचारीको अभाव रहेको र यसलाई पुरा गर्न सेवा करारमा कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँले दशैं अगावै रिक्त पदमा कर्मचारी खटाइसक्ने पनि बताउनुभयो।
स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता हो र यसमा लामो समयसम्म कर्मचारीको अभाव हुनु गम्भीर विषय हो। जनताको जीवन र स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता समस्याहरूलाई सम्बोधन गर्न सम्बन्धित निकायले शीघ्र कदम चाल्न आवश्यक छ। साथै, स्थानीय जनप्रतिनिधिहरू, सरोकारवालाहरूले यस विषयमा समयमै चनाखो भई अग्रसरता देखाउँदै समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ।




