मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
“प्रेम र युद्धको दोहोरी: क्रान्तिकारी लक्ष्मी तामाङको अटल संघर्ष गाथा”
प्रेम प्रस्ताव अस्विकार गर्दा पनि युद्धको सहकर्मी: लक्ष्मी तामाङको आत्मकथा
थाङ्मीचागु डटकम सम्बादाता २५ भदौ २०८१
उसले प्रेम प्रस्ताव राखेको छ भन्ने कुरा दोलखाबाट ICRC को स्वास्थ्य तालिमबाट टोलीमा जान सिन्धुली तर्फ फर्कदै गर्दा थाहा पाएकी थिए तर आधिकारिक च्यानलबाट भने थिएन। उ चैनपुर, भिमान, लाहान, सल्लेरी जस्ता ठुला ठुला लडाइँका अनुभबयुक्त साहसिक र कुशल नेतृत्व दिनसक्ने गम्भीर स्वभावको थियो। त्यसैले उ म भन्दा पार्टी लगानी र नेतृत्वको हिसाबले निकै अग्रज, भने म पार्टी विधि, पद्धति र अनुशासनलाई पालना गर्दै राजनैतिक, वैचारिक, फौजी र विभागीय दक्षता हासिल गर्न संघर्षरत पात्र। त्यसैले उमेर, पार्टी लगानी र उद्देश्यको हिसाबले प्रेमको सोचमा म थिएन। हामी एउटै कम्पनीमा भए पनि म विभागीय तालिम, लडाइँ, घाइतेको उपचार, व्यवस्थापनमा रहनुपर्ने हुनाले हामी नजिकबाट सहकार्यमा न्यून थियो। सिन्धुली मरिनछापमा पुगेपछि उ सहित टोलीसँग भेट भयो जहाँ तेस्रो बिरगेट को पनि भेला भैरहेको थियो। त्यही बेला एक दिन हेडक्वाटरले मलाई उसले प्रेम प्रस्ताव राखेको र त्यसप्रतिको धारणा माग्यो। मैले उसको प्रस्तावलाई अस्विकार गर्ने विचार राखे, र यसलाई नै कार्यालयले आधिकारिक अन्तिम धारणा मान्यो।
मैले उसको प्रेम प्रस्तावलाई अस्विकार गरेको खबर पाएपछि उ अलि निराश भएको कुरा उसका निकट साथीहरूले मलाई बताउँथे, तर म भने यो प्रसंगले कतै पनि ठाँउ नपाइदिए हुन्थ्यो झैँ लाग्थ्यो। यसै क्रममा पार्टीले भोजपुर रिपिटर टावर आक्रमणको योजना ल्यायो, जसको लागि निश्चित संख्याको एस.टी.एफ टोली तयारी गर्न कम्पनीहरूलाई आदेश आयो। त्यो टोलीमा म अनि उ पनि पर्यौँ। त्यति बेला सम्म कहिल्यै एउटै युनिटमा रहेका थिएनौँ हामी, अब भने सङ्गै मेष, ड्युटी, यात्रा गर्नु पर्ने भयो। अब हाम्रो यात्रा चौबीस घन्टामा सत्र देखि अठार घन्टासम्मको तय हुँदै थियो पुर्बी भोजपुरको लागि। यसै क्रममा सिन्धुली, रामेछाप हुँदै दोलखा तर्फको यात्रामा हुँदै गर्दा उसको नामको एक पत्र मेरो नाममा आयो। मैले आफ्नो आधिकारिक धारणा च्यानलमा राखिसकेपछि पनि पत्र किन? मलाई केही रिस उठेको थियो भने धेरै चाहिँ डर लागेको थियो ताकी पार्टी बिधान, पद्धति र अनुशासन विपरित गरेको यो हर्कत पार्टीले थाहा पाइहालेमा कारबाहीमा पर्न सक्ने हुनाले।
उसले पत्रमा औपचारिक, अनौपचारिक भूमिकाको बिचबाट लेखेको थियो, “क लक्ष्मी, प्रेम गर्नु कुनै अपराध गर्नु होइन। हामी त झन् क्रान्तिकारी पार्टी, पद्धति र मर्म अनुसारनै मैले तपाईं प्रती प्रेम प्रस्ताव राखेको हो। यो मेरो अधिकार हो भने अस्विकार गर्न पाउनु तपाईंको अधिकार हो। तपाईं पार्टी र क्रान्तिको लागि निकै संभावना भएकी नेतृत्व उन्मुख पात्र हो, तपाईंको विकासप्रति म सदैव सहयोग गर्न चाहन्छु। तपाईंले चाहेमा मबाट हुने सहयोगमा कमी हुने छैन, तर लक्ष्मी विचार प्रधान हुँदा-हुँदै कहिले काहीँ भावना प्रधान भएर आउँदा यति चाहिँ सोच्ने गर्छु, कि यदि यो संघर्षको यात्रामा यात्रीरत रहँदा सहिदको पंक्तिमा उभिनु परेमा अन्तिम प्राणको त्याग हुँदै गर्दा साथमा तपाईं भइदियोस् यति चाहना छ।” यी शब्दहरूले मेरो मस्तिष्कमा उत्पन्न गरेको तरङ्गले मुटुमा बेजोडले धक्का दियो, शरीर हड्डी नभएको झैँ लल्याक लुलुक्का गलेको झैँ भान भयो। तसर्थ, काँपेका हातहरूले पत्रलाई तत्काल नष्ट गरिदिएँ, र आफूलाई सामान्य अवस्थामा ल्याउन अनेक बहाना गरिरहेँ।
रामेछापको गर्जाङ पुग्दै गर्दा उसको घर नजिक पर्नाले पारिवारिक भेटको लागि उ गयो, हामी भने गर्जाङ चुचुरेमै सेल्टर रत रह्यौँ। बिहान खिम्तिको सेना हामी तर्फ आउँदै गरेको खबर लिएर उ टोलीमा आइपुग्यो। सेना र भुगोलबारे उ जानकार भएकोले उसैले सबै ब्रीफिङ कार्यलयलाई गरायो। सेना संग हाम्रो भिडन्त सुरु भयो। सुरुमा सेना लो र हामी हाइ भुगोलमा भएकोले लडाइँ हाम्रो अनुकूलमा थियो। हाम्रो फायरको प्रभावले सेना गर्जाङ खोलापारी चौउर तर्फ भाग्न थाल्यो, भने हामी आक्रमक शैलिमा सेनाको पिच्छा गरिरह्यौँ। जहाँ उ बिना हतियार सिभिल पोशाकमै आफ्नो टोलीलाई कमान्ड गर्दै अघि बढिरहेको थियो। जब सेना पारी हाइ भुगोल र हामी चौउरको लो भुगोलमा पर्यौँ, लडाइँ प्रतिकूलमा परिणत हुँदै गयो।
सेनाको फायरको प्रभाव हामीमाथि पर्न थाल्यो, घाइतेको संख्या बढ्दै गयो। परिस्थितिको आंकलन गर्दै कमान्डरले रिट्रिटको आदेश गर्यो। म भन्दा अघिको कभरमा रहेको उ फर्कनको लागि अर्को कभरमा जान ब्यान पोजिसनमा जानै लाग्दा उसको शरीर अस्वभाविक ढङ्गले भुइँ रोलिङ गर्दै म छेउ आइपुग्यो। सायद उ पहिले देखिनै दुश्मनको निसानामा परिरहेको थियो होला। मैले उसलाई आफू तर्फको कभरमा तानेँ र उसको शिरलाई देब्रे पाखुरामा अडाएँ। दाहिने हत्केलाले उसको छातीमा धक्का मारेँ, तर मेरो हत्केला उसको छातीबाट निस्केको रातो र तातो रगतले भिज्यो। तब एकिन भो, उसलाई छातीमा गोली लागेछ भनेर। मलाई पछाडिबाट मेरो कमान्डर अपिलले रिट्रिट हुन बारम्बार आदेश गरिरहेको थियो। मैले उसलाई ब्युझाउन सक्ने सम्भावनाहरू गरेँ, तर सब निरर्थक मात्र। म पछि हट्न एक कभर छानेँ। उसको मृत शरीरलाई त्यही कभरमा छोड्दै अर्को कभरमा गएँ। यतिन्जेल सम्म सेनाको हेलिकप्टरले आकाशबाट भीषण फायर गरिरहेको थियो भने जमिनबाट पनि त्यतिनै।
फेरि म अर्को कभरको लागि तयारी भएँ, उसलाई अन्तिम पटक हेरेँ। उ अघि जस्तो अवस्थामा छोडिएको थियो, त्यस्तै अवस्थामा शान्त रुपमै ढलिरहेको थियो। उसको मृत शरीरलाई आफुले लान नसकेकोमा माफी माग्दै, उसको भौतिक शरीरप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै भनेँ, “क. लक्ष्य, तिमी प्रती हार्दिक श्रद्धासुमन।”
घण्टौँको लडाइँ सकिँदै थियो, झमक्क साँझले धर्ति छोपिँदै थियो। उ लगायत आधा दर्जन साथीहरूलाई त्यही छोडेर शिखर, पासङ सहितको घाइतेलाई लिएर उ त्यो गर्जाङ चुचुरे पहाडको कालो जंगलतर्फ हार र क्षति अनि कहिल्यै मिलन नहुने बिछोडका क्षण बोकेर उकालो लाग्यौँ सहिद कुमारीसँगै म। त्यो रातको यात्रामा शिखरलाई त्यही जंगलमा गुमायौँ।
उसलाई त्यतै संस्कार्यौँ। रातको दुई बजे अनकन्टार जंगलको त्यो चौरी गोठमा पुग्दै गर्दा फेरि पासाङलाई गुमायौँ। अब हामीसँग हिंड्न सकिने दुई मात्र घाइते सबिना र रेशमलाई लिएर पाथिभराको काख चंखुमा झर्यौँ। फेरि हामी लक्ष्मणको साथमा घाइतेको जिम्मा लगाउँदै त्यो मिशन भोजपुरको लागि कुमारी र म ठुलो हिमालको थुप्रो पाथिभरको शिर चढ्दै टोलीको पदचाप पछ्याउँदै पुनः गर्जाङ झर्यौँ। चार दिनपछि स्थानीयबाट खबर पाएँ, उ लगायत सबैको शवलाई पार्टीले संस्कारिसकेको भनेर। उसले रगत बगाएको त्यो ठाउँलाई अन्तिम पटक नियालेँ। त्यो भन्दा पछि त्यो ठाउँ पुग्ने कुनै सम्योग जुरेको छैन, सायद अब जुर्दैन पनि होला। एक काल्पनिक व्यवस्थाको लागि सहिद भएको त्यो योद्धाको निसानीको प्रतीक आज देशको लागि गणतन्त्र छ, यो नै देशको लागि सौभाग्य हो, र उसको त्यो प्रेम नै मेरो लागि पनि एक सौभाग्य।
लक्ष्मी तामाङ, सर्लाही





