संसद्को पहिलो र दोस्रो ठुलो दल मिल्नु स्वाभाविक मानिँदैन लोकतन्त्रमा त झन् मानिँदैन तर त्यो अभ्यास गर्न खोजिएको टिप्पणी गरे । प्रचण्ड

0Shares

संसद्को पहिलो र दोस्रो ठुलो दल मिल्नु स्वाभाविक मानिँदैन लोकतन्त्रमा त झन् मानिँदैन तर त्यो अभ्यास गर्न खोजिएको टिप्पणी गरे । प्रचण्ड

थाङ्मीचागु डटकम संवाददाता
शनिबार, १२ साउन २०८१
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनबाट नै संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयास भइरहेको बताएका छन् ।

पुष्पलालको जन्म शताब्दीको अवसरमा शनिबार आयोजित प्रवचन गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधान सभाबाट संविधान बनिसकेपछि पनि यो संविधानका मूलभूत प्रस्तावनालाई बदल्न खोज्ने, समावेशितालाई समानुपातिकतालाई, संघीयतालाई र गणतन्त्रको प्रगतिशील पक्षलाई कमजोर पार्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनभित्र देखा परेको बताएका हुन् ।

संविधानलाई कुल्चिन चाहने, संसद्लाई अवैधानिक ढङ्गले विघटन गर्न चाहने प्रवृत्तिसँग पनि संघर्ष गरेको बताउँदै उनले संसद्को पहिलो र दोस्रो ठुलो दल मिल्नु स्वाभाविक मानिँदैन लोकतन्त्रमा त झन् मानिँदैन तर त्यो अभ्यास गर्न खोजिएको टिप्पणी गरे ।

दुई दलीय सिस्टममा लैजाने उद्देश्यका साथ संविधान संशोधनलाई अगाडि बढाउन यी दुई ठुला दल मिलेको दाबी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधान संशोधन गर्नु नै हुँदैन भन्ने होइन । महिला तथा अन्य उत्पीडित समुदायलाई अधिकार अझै पुगेको छैन, त्यसको अधिकारलाई बढोत्तरी गर्नुपर्छ भनी नोट अफ डिसेन्ट लेख्ने पार्टीको नाताले हामी संविधान संशोधनको पक्षमा छौँ ।’

तर संविधान संशोधनको नाममा प्रतिगमनतिर लगेर अधिकार र पहिचानलाई खोस्ने दुस्साहस हुँदैछ भनेर आफूहरूले त्यसको विरोध गरेको उनले प्रष्ट पारे ।

उनले भने, ‘सडकमा पलेटी कसेर भए पनि जनताको साथमा रहेर उनीहरूको दुस्साहसलाई पुरा हुने दिने छैनौँ ।’ 

संविधान संशोधनको विरोधी आफूहरू नरहेको बताउँदै उनले संविधान सभाबाट बनेको संविधानले नेपालको सार्वभौमिकता, राष्ट्रियतालाई बाहेक अन्य सबै विषयलाई संशोधन गर्न मिल्ने व्यवस्था रहेको र अझै प्रगतिशील संविधान बनाउन यसलाई संशोधन गर्न सकिने बताए । ‘तर कसैको स्वार्थ सिद्ध गर्न यो संशोधन हुँदैन,’ उनले भने ।

‘अहिले थ्रेसहोल्डको कुरा आइरहेको छ । थ्रेसहोल्ड बढाएर साना पार्टीलाई निस्तेज पार्ने र तथाकथित दुई पार्टी सिस्टम ल्याएर पश्चिमा देशको जस्तो जबरजस्ती लान खोजिएको छ र त्यहीमार्फत देशलाई अधिनायकवादतर्फ लैजाने कोसिस भइरहेको छ,’ उनले भने ।

सबै राष्ट्रवादी र देशभक्तहरूलाई एकै झन्डामुनि ल्याउने प्रयास भइरहेको बताउँदै उनले सच्चा कम्युनिस्टहरू त्यसमा पछाडि हट्न नहुने बताए ।

प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *