नेकपा एमाले जिन्दाबाद, भोट केमा हलोमा ?’ मैले बुझ्न सकिनँ : भीम रावल

0Shares

नेकपा एमाले जिन्दाबाद, भोट केमा हलोमा ?’ मैले बुझ्न सकिनँ : भीम रावल

थाङ्मीचागु डतकम संवाददाता
शनिबार, १२ साउन २०८१
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन नसकेकोमा दुःख प्रकट गरेका छन् । पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित प्रवचन गोष्ठीमा धारणा राख्दै नेता रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर चुनाव लडेको देख्दा आफूलाई आश्चर्य लागेको बताएका हुन् ।

नेता रावलले भने, ‘पुष्पलालले जहिले पनि सिद्धान्तमा जोड दिनुभयो । नीति प्रधान हो भन्नुभयो, तर आजकल के देख्छौँ हामी, संसदीय निर्वाचन हुन्छ, विपरीत सिद्धान्त भएका राजनीति दलहरू निर्वाचन एक भएको देख्छु ।’ 

‘एउटा दलले एउटा चिन्ह लिएर जिन्दाबाद भन्छ, त्यसको सिद्धान्त के छ कम्युनिस्टलाई सिद्ध्याउने । अर्को दल कम्युनिस्ट पार्टी भन्छ, त्यो सिद्ध्याउन चाहनेलाई जिन्दाबाद भन्दै मत दिइरहेको हुन्छ । कति आश्चर्य छ,’ उनले थपे, ‘मैले देखेँ नेकपा एमाले जिन्दाबाद भोट केमा हलोमा ? नेपाली कांग्रेस जिन्दाबाद भोट केमा कलममा ? मैले बुझ्न सकिनँ यो राजनीति ।’

कम्युनिस्ट पार्टीलाई सिद्ध्याउनेसँग मिलेर समाजवाद नआउने उनको जिकिर थियो । उनले भने, ‘नेपालमा समाजवाद ल्याउने भनेको हो कि होइन ? कहाँ छ त्यो समाजवाद ? कुन बाटो ? त्यो राजमार्ग अगाडि कहाँ छ ?’

पुष्पलालले नेपालको स्वाधीनताको पक्षमा उभिएको स्मरण गर्दै आजको नेताहरू विदेशीसामु लम्पसार भएको जिकिर गरे । 

‘जुन बेला नेपालमा जहानियाँ राणा शासनमुनि निस्सासिरहेको थियो, त्यो बेलामा पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेर क्रान्तिको बाटोमा अगाडि लाग्नुपर्छ, संगठनात्मक शक्ति निर्माण गर्नुपर्छ भन्ने विचार अघि सारे । त्यति बेला पनि भारतीय कम्युनिस्ट पार्टीका केही नेताहरूले तपाईंले कम्युनिस्ट पार्टी किन छुट्टै बनाउनुपर्‍यो ? तपाईंले एउटा हाम्रो पार्टीको प्रान्तीय कमिटी पार्टी बनाउनुहोस्, विदेशमा नेपाल कम्युनिस्ट पार्टी भने पनि त्यसको विदेश सम्बन्ध हामी सञ्चालन गरिदिन्छौँ भनेर भनेका रहेछन् ।’

तर, पुष्पलालले आफूहरू स्वतन्त्र देश नेपालका मानिस भएको र देशको आन्दोलनले छुट्टै विशिष्टताको बाटोमा अघि बढ्नुपर्छ भनेको नेता रावलले स्मरण गरे । उनले भने, ‘आज विदेश भ्रमण गर्‍यो, त्यहीँ लम्पसार, कुनै देशको दोस्रो श्रेणीको राजदूतावासको कर्मचारी आयो, त्यहीँ लम्पसार पर्ने नेताहरूको प्रसङ्गमा यो सम्झाउन कति महत्त्वपूर्ण छ ।’

भीम रावल

Leave a Reply

Your email address will not be published. Required fields are marked *