मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर

0Shares

मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर

थाङमिचागु डटकम संवाददाता

मकवानपुरको विकट राक्सिराङ गाउँपालिका-७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएकाे छ ।

शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए । मृत्यु हुनेमा बाबु ४५ बर्षीय दलबहादुर चेपाङ रहेको राक्सिराङ-७ का वडा अध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए । दलबहादुरलाई आज आइतबार उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष चेपाङले बताए ।

मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको वडाध्यक्ष चेपाङले बताए ।

चेपाङ समुदाय छाक टार्नकै लागि च्याउ, वन तरूल, कन्दमूल, गिठ्ठा भ्याकुरलगायत जंगलमा आश्रित खानेकुरा खाने गरेका छन् । जसकारण जंगली च्याउ खाँदा यहाँका स्थानीय हरेक वर्ष बिरामी पर्ने गरेका छन् ।

शनिबार राति नै स्वास्थ्य समस्या आए पनि आफूलाई आज १२ बजे मात्रै खबर आएको वडाध्यक्ष चेपाङले बताए । भौगोलिक रूपले विकट राक्सिराङमा पातलो गाउँ, टेलिकम सेवा र यातायात सञ्जालको सहज पहुँच नहुँदा बिरामीहरूले समयमै उपचार नपाउँदा ज्‍यान जाने जोखिम बढेको छ ।

राक्सिराङ गाउँपालिकामा स्वास्थ्य तथा शिक्षा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको गैरसरकारी संस्था निशा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालले परिवारकै उपचारको जिम्मा लिएको छ । उनीहरूको सबै उपचार खर्च व्यहोर्ने परियोजना व्यवस्थापक अनिल पौडलले बताए ।

जंगली च्याउ तरकारी मकवानपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *