तत्कालीन सेन्चुरी बैंकका ९ जनालाई हाजिरी जमानी छाड्ने सीआईबीको तयारी

0Shares

तत्कालीन सेन्चुरी बैंकका ९ जनालाई हाजिरी जमानी छाड्ने सीआईबीको तयारी

थाङमिचागु डटकम संवाददाता

३० जेठ, काठमाडौं । तत्कालिन सेन्चुरी बैंकले कमसल धितोमा ऋण दिएको प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अध्यक्ष राजेश श्रेष्ठ र सञ्चालक समितिका सदस्यहरु गरी ९ जनालाई हाजिरी जमानी छाड्न लागिएको छ ।

सोमबार पक्राउ परेका उनीहरुलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनीहरुमाथि अनुसन्धानका लागि पहिलो पटक दुई दिनको समय दिएको थियो ।

मंगलबार दुई दिनको म्याद सकिएपछि आज बुधबार उनीहरुलाई हाजिरी जमानीमा छाड्न लागिएको सीआईबीका प्रवक्ता तथा एसपी होबिन्द्र बोगटीले बताए । ‘उहाँहरु छुटिसक्नु भएको छैन । छाड्ने प्रक्रिया अघि बढाइरहेका छौं । केहीबेरमा कागजी प्रक्रिया पूरा भएपछि छुट्नुहुन्छ’ बोगटीले भने ।

पक्राउ परेका सबै जनाको बयान समेत भइसकेको, स्वास्थ्य अवस्था समेत राम्रो नभएको, अधिकाशंजसो वयोवृद्ध देखिएकाले हाजिरी जमानीमा छाडेर मुद्दा प्रक्रिया अघि बढाउन लागिएको प्रवक्ता बोगटीले अनलाइनखबरलाई बताए । बोगटीका अनुसार हाजिरी जमानीमा छाड्ने तयारी अनुसार आज उनीहरुलाई म्याद थपका लागि अदालत समेत उपस्थित गराइएको थिएन ।

सेञ्चुरी बैंकले कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ । उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो ।

यही विषयमा अनुसन्धानका लागि सीआईबीले सोमबार अध्यक्ष श्रेष्ठसँगै सञ्चालकहरु सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ, शिवगोपाल रिसाल र अभिषेक बज्राचार्यलाई पक्राउ गरेको थियो ।

यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २०८० मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए । उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए । हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *