युवालाई टिकटमा कन्जुस्याइँ

0Shares

युवालाई टिकटमा कन्जुस्याइँ

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार देशभर उम्मेदवारी दर्ता भयो । प्रमुख पार्टीबाट प्रायः पुरानै अनुहार दोहोरिए । टिकट बाँडफाँटमा असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिने धेरै भए । अर्कोतर्फ प्रदेशभर सबैजसो पार्टीको प्राथमिकतामा युवा परेनन् । सबैजसो उम्मेदवार ५० वर्ष वरिपरिका छन् ।

‘सबैले युवा भने पनि यथार्थमा युवालाई यस पटक पनि मौका दिएको जस्तो लागेन,’ पोखरा महानगरपालिका–९ पृथ्वीचोकका विक्रम पोखरेलले भने । कांग्रेसका युवा नेतासमेत रहेका पोखरेलले पार्टीभित्रै युवाको छुट्टै लडाइँ भए पनि नेतृत्व तहले अझै पनि जिम्मेवारीमा पुरानै अनुहार दोहोर्‍याउन चाहने गरेको बताए । उम्मेदवारी दिनु केही समयअघि कांग्रेसका युवाहरू पोखरामा भेला भएर युवालाई टिकट दिन नेतृत्वलाई दबाब दिने निर्णय नै गरेका थिए । कांग्रेसको गण्डकी प्रदेश सदस्य अजित क्षत्रीले परिवर्तनका लागि युवा नेतृत्व आवश्यक रहेको बताए ।
प्रदेशका केही क्षेत्रमा भने युवा उम्मेदवारी परेको छ । मुस्ताङमा प्रतिनिधिसभाका लागि गठबन्धनबाट कांग्रेसका २८ वर्षीय योगेश गौचन उम्मेदवार बनेका छन् । प्रदेशतर्फ क्षेत्र–१ मा ३३ वर्षीय नमजुङ गुरुङ र क्षेत्र–२ मा ३९ वर्षीय विकल शेरचन चुनावी मैदानमा छन् । म्याग्दीमा प्रदेशतर्फ क्षेत्र–१ मा माओवादीका ३९ वर्षीय हरि भण्डारी उम्मेदवार रहँदा क्षेत्र–२ मा उसले ३९ वर्षकै रमेश जुग्जालीलाई उठाएको छ । बागलुङमा क्षेत्र–१ (२) मा कांग्रेसका ३९ वर्षीय डिल्लीराम सुवेदी, क्षेत्र–१ (१) मा स्वतन्त्र उम्मेदवार ३३ वर्षीय दीपेन्द्र हमाल, क्षेत्र–१ (२) मा राप्रपाका ३७ वर्षीय गोविन्द सापकोटाको उम्मेदवारी छ ।

लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि आमूल परिवर्तन मसिहा पार्टीबाट ३९ वर्षीय नन्दजंग गुरुङ र स्वतन्त्र उम्मेदवार २८ वर्षीय चन्दन बस्याल चुनावी मैदानमा छन् । प्रदेशतर्फ क्षेत्र–२ मा ३९ वर्षीय युवराज दुरालाई जनता समाजवादी पार्टीले उठाउँदा हाम्रो नेपाली पार्टीका ३० वर्षीय विमल घिमिरे पनि उम्मेदवार बनेका छन् । मनाङमा ३९ वर्षका २ जनाले मनोनयन दर्ता गराए । जसमा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुखिया गुरुङ र प्रदेशतर्फ क्षेत्र–१ मा एमालेबाट राजनबहादुर गुरुङ छन् ।

यस्तै, कास्की–१ मा ६ जना, २ मा ७ र ३ मा ६ जना युवाको उम्मेदवारी परेको छ । प्रदेशतर्फ क्षेत्र–१ (१) मा २, १ (२) मा १, २ (१) मा ६, २ (२) मा ४, ३ (१) मा २ र ३ (२) मा १ जना युवाले मनोनयन दर्ता गराए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा क्षेत्र–१ मा ३३ वर्षीय बोधराज रेग्मीसहित ७ जना उम्मेदवार छन् ।

ठूला दलले चुनाव नजित्ने अवस्था रहेका ठाउँमा मात्र युवालाई टिकट दिइएको आरोप युवा नेताहरू लगाउँछन् । गोरखा क्षेत्र–२ मा एमालेले २८ वर्षीय अब्दुस मियाँलाई अघि सारेको छ । उक्त क्षेत्रमा माओवादी, कांग्रेस र नेपाल समाजवादी पार्टीको गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार छन् । गत स्थानीय निर्वाचनको मत परिणामका आधारमा यो क्षेत्रमा एमाले कमजोर देखिन्छ । पूर्वी नवलपरासीमा ११ जना युवाको उम्मेदवारी परेको छ । पर्वतमा माओवादीका सुदीप कुँवरलगायत ६ र तनहुँमा ५ जना ४० वर्ष नकटेका उम्मेदवार चुनावी मैदानमा छन् ।

गण्डकीमा प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ जना निर्वाचित हुन्छन् । ६० सदस्यीय प्रदेशसभामा २४ जनाले समानुपातिकबाट नियुक्ति पाउँछन् । आसन्न निर्वाचनमा प्रदेशभर यसअघि सांसद रहिसकेकै व्यक्ति पुनः उम्मेदवार बनेका छन् । प्रदेशतर्फ १० र संघतर्फ ११ गरी कुल २१ जना पूर्वसांसद फेरि उम्मेदवार बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *