कुकुर मारेको घटनालाई किन गम्भीरतापूर्वक लिंदैन प्रहरी ?

0Shares

कुकुर मारेको घटनामा उजुरी दिन प्रहरी वृत्त बालाजु पुगेका स्थानीयवासी
काठमाडौं । सामाजिक सञ्जाल टिकटक र फेसबुकमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक महिलाले सडकमा सुतिरहेको कुकुरलाई धारिलो हतियारले प्रहार गरेर मारेको देखिन्छ । आफ्नो बच्चालाई कुकुरले टोक्यो भनेर उनले त्यो कुकुरलाई धारिलो हतियारले प्रहार गरेर मारेकी हुन् ।

यो घटना काठमाडौंको तारकेश्वर नगरपालिका-४ मा दुई दिनअघि भएको हो । स्थानीय जुना बरामले आफ्नो बच्चालाई कुकुरले टोकेपछि आक्रोशित भएर उक्त कुकुरलाई मारेकी हुन् ।

छिमेकका केही व्यक्ति कुकुरलाई मारेको सीसीटीभी भिडियो लिएर उजुरी गर्न प्रहरी वृत्त, बालाजु पुगे । तर प्रहरीले जाहेरी नै लिन मानेन । प्रहरीले सोझै भनिदियो- कुकुर मारेको कुरालाई त्यति धेरै महत्व दिनुपर्छ जस्तो लाग्दैन । स्थानीयवासी र पशुअधिकारकर्मीहरुको दबाबपछि मात्रै जाहेरी लिएर बिहीबार बरामलाई प्रहरीले पक्राउ गर्‍यो ।

बरामले आफूले कुकुर मारेको भनेर स्वीकार गर्दा पनि प्रहरीले सुरुमा उजुरी नलिनु दुःखद् भएको पशु अधिकारकर्मी कविता आचार्य बताउँछिन् । कुकुर मार्नेले नै मैले मारेको हो भनेर स्वीकार गरिरहँदा पनि कुकुरको लास चाहियो, कुकुरको पोस्टमार्टम गर्नुपर्छ अनि मात्र कारबाही हुन्छ भन्नु अनुचित भएको उनको भनाइ छ ।

यसरी कुकुरलाई मार्ने व्यक्तिले सजाय पाएनन् भने यस्ता घटना बारम्बार दोहोरिन सक्छन् । कुकुर मारेको त हो नि मान्छे मारेको हो भन्ने सोच बोकेर बसेका प्रहरी जवानहरूले यस्तो घटनालाई दोहोर्‍याउन प्रोत्साहित गरिरहेका छन् ।

कुकुरलाई तथा अन्य जनावरलाई क्रूर व्यवहार गर्नु हुँदैन । उनीहरूलाई मार्नु हुँदैन भन्ने ज्ञान सर्वसाधारणलाई त थाहा नै छैन । सरकारी निकायका ठूला ओहोदामा बसेकाहरूलाई पनि यो कुरा थाहा छैन ।

स्थानीयले कुकुर मारेको जाहेरी दिएर कानुन बमोजिम सजाय होस् भन्ने माग गरेपछि मात्र प्रहरीले कानुन पल्टाएर हेर्‍यो । तैपनि उनीहरूले यो विषयलाई त्यति धेरै चासोको विषय ठानेको देखिएन ।

कुकुर मार्नेलाई के हुन्छ कानुनी सजाय ?

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसुरको व्यवस्था छ । संहिताको दफा २९० मा ‘कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ तथा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न नहुने’ उल्लेख छ ।

उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संहिताको दफा २८९ मा त्यस्ता पशु मारेमा तीन वर्षसम्म कैदको व्यवस्था छ । अंगभंग गराएमा ६ महिनासम्म कैद हुन्छ । रोगी तथा वृद्ध पशुहरुलाई सार्वजनिक स्थानमा छाड्न नहुने र यस्तो कार्य गरेमा तीन महिना कैद र पाँच हजार जरिवानाको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *