न्युरोड फुटपाथ विस्तारबारे बालेन र वडाध्यक्षबीच चर्काचर्की

0Shares

न्युरोड फुटपाथ विस्तारबारे बालेन र वडाध्यक्षबीच चर्काचर्की
वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले आफूलाई महानगरले विभेद गरेको भन्दै आफ्नो क्षेत्रमा फुटपाथ विस्तार हुँदा पत्रिका पढेर थाहा पाउनुपरेको बताए

थाङमिचागु डटकम संम्बतदाता
२०८१ जेठ १८ गते

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा न्युरोडमा महानगरले गरिरहेको फुटपाथ विस्तारको विषयमा मेयर बालेन साह र २२ नम्बर वडाका अध्यक्ष चिनिकाजी महर्जनबीच चर्काचर्की परेको छ ।

महर्जनले आफूलाई महानगरले विभेद गरेको भन्दै आफ्नो क्षेत्रमा फुटपाथ विस्तार हुँदा पत्रिका पढेर थाहा पाउनुपर्ने बताए ।

त्यसपछिको चर्काचर्की जस्ताको तस्तै :

बालेन : तपाईंको वडामा पत्रिका पढेर थाहा पाउनुभयो कि २४ नम्बर वडाको थाहा पाउनुभयो ? २४ नम्बर वडाध्यक्षले मान्छे फुटपाथमा हिँड्न गाह्रो भयो, पाकेटमार बढ्यो, यौन दुर्व्यवहार भयो, साँघुरो भयो भनेर फुटपाथ बढाउँदा तपाईंलाई के समस्या हो ?

महर्जन : मैले कहाँको कुरा गरिराछु, तपाईंले कहाँको कुरा गर्नुभयो ?

बालेन : २४ नम्बर वडाको कुरा हो ।

महर्जन : न्युरोड कहाँ पर्छ ? न्युरोडको भूगोल कहाँ पर्छ ? तपाईंलाई ज्ञान नभएको न्युरोड कहाँ पर्छ ?

बालेन : २४ नम्बर वडाको फुटपाथ बढाउँदा तपाईंलाई के समस्या ?

महर्जन : न्युरोड भनेको २४ नम्बर वडाको मात्रै हो ?

बालेन : २४ वडामा काम हुँदैछ, २२ को भएकै छैन, तपाईंलाई के समस्या भयो ?

महर्जन : तपाईंले प्रश्नको उठान कसरी गर्नुभयो ? त्यसोभए २२ नम्बर वडामा तपाईंले ठेक्का नराखेको हो ? २४ मात्रै काम गर्ने हो ?

बालेन : हो ।

महर्जन : तपाईंले योभन्दा अगाडि के भन्नुभएको थियो ? नयाँ सडक फुटपाथको काम गदिर्न भन्नुभएको होइन ?

बालेन : गर्दिन भनेकै छैन । सहकार्यमा गर्नुपर्छ भनेको हो । तपाईंसँग सल्लाह गरेर गरेको हो ।

महर्जन : मेयरसाबले सल्लाह कहाँ चाहिँ गर्नुभयो त ?

बालेन : फुटपाथ बढाउने भनेर तपाईंले हेरेकै हो । सबै वडाध्यक्षले हेरेकै हो र डिजाइन पनि हेरेकै हो । अहिले आएर कुरा फरक गर्न पाइँदैन नि !

महर्जन : के कुरा फरक पारेँ मैले ?

बालेन : दैनिक १ लाखभन्दा बढी हिँड्ने फुटपाथको साइज कत्रो चाहिन्छ थाहा छ तपाईंलाई ?

महर्जन : तपाईंलाई थाहा छ, तपाईं त प्राविधिक मान्छे, तपाईं नै भन्नुस न !

बालेन : कम्तीमा तीन मिटरभन्दा बढी हुनुपर्थ्यो । सडक विभागले नै बनाउनुपर्थ्यो, कालोपत्रे सात मिटरभन्दा बढी चाहिँदैन ।

महर्जन : सडक विभागले आपत्ति जनाइसकेको छ ।

बालेन : सडक विभागले आपत्ति जनाएको छैन, आपत्ति जनाएको भए १५ दिनभित्र रिप्लाई गर्नुभन्दा किन गरेन ? ठेक्का लगाइसकेको छ, विभागले होइन महानगरले बनाएको फुटपाथ हो ।

महर्जन : हाम्रो संस्थामा राज्यको विधि विधान मान्ने कि नमान्ने ? न्युरोडको हकमा त्यहाँको वडाध्यक्ष मात्रै होइन, करदाता, स्थानीय सबैले बोल्न पाउनुपर्छ । न्युरोड के हो ? यसमा इतिहास मेट्ने गरी गेम चेन्जर प्लान हुँदैछ, यसमा हामीसँग छलफल हुनु नपर्ने ?

बालेन : गाडी कुद्ने बाटो बाँकी छाडेर हिँड्नलाई बाटो बनाउँदा कसरी इतिहास मेटिन्छ ? इतिहास भनेको के हो ? अहिले भएको सडक र फुटपाथ मापदण्डमा छैन, हामीले मापदण्डमा ल्याउन खोजेको हो ।

महर्जन : यसमा सडक विभागको सहमति खै त ?

बालेन : यहीँ बसेर दुई दिन अगाडि सहमति गरेर गएको हो ?

महर्जन : त्यो पत्र किन आयो त ?

बालेन : आयो, किन आयो थाहा छैन । पत्र राजनीतिक आयो ।

महर्जन : कस्तो राजनीतिक ? तपाईंलाई थाहा नभई मिडियामा आउँछ ?

बालेन : अरूले काटेको पत्र मलाई थाहा हुन्छ ?

महर्जन : तपाईंलाई अहिलेसम्म थाहा छैन ?

बालेन : के ?

महर्जन : सडक विभागले नगर्नू, नगराउनू भनिरहेको छ त !

बालेन : सडक विभागको अधिकार क्षेत्रमै पर्दैन त्यो बाटो, त्यसले बनाएको हो र त्यो बाटो ?

महर्जन : त्यसो भए किन काट्यो त पत्र ? यसको जवाफ नदिने ? सहमति हुँदाहुँदै किन पत्र काट्यो त ?

बालेन : त्यो पत्र गैरकानुनी छ । त्यसमा कानुनी कारबाही हुन्छ ।

महर्जन : कानुनी कारबाही एक ठाउँमा छ । यो २२ नम्बर वडाका बासिन्दासँग छलफलको विषय हुन सक्छ कि सक्दैन ?

बालेन : छलफल गरेरै गरेको हो ।

महर्जन : कोसँग खै ?

बालेन : त्यहाँका जनता, त्यहाँको वडाध्यक्षसँग ।

महर्जन : त्यहाँको जनतासँग कि त्यहाँको व्यापारीसँग छलफल गर्ने हो ? कसको आडमा यो काम गर्न खोजिँदैछ ? न्युरोडमा पेटी बढाउने, सडक घटाउने भन्ने विषय बत्ति बाल्ने, पिच गर्ने जस्तो हो र ?

बालेन : सडक घटाउने होइन, जति मापदण्डमा चाहिने त्यति राख्ने हो ।

महर्जन : कस्तो मापदण्ड, के मापदण्ड ?

बालेन : मापदण्ड कालोपत्रे सात मिटर हुनुपर्नेमा कतै १२, ९ मिटर छ । र, व्यक्ति लाखौं हिँड्ने ठाउँमा कति चाहिन्छ, त्यति मापदण्ड राख्ने हो ।

महर्जन : सार्वजनिक सडकको विषयमा सडक विभागको आफ्नै ऐन छ, समन्वय गर्ने कि नगर्ने ?

बालेन : हामीले गरेको काम सडक विभागको ऐनअनुसार नै हो ।

महर्जन : किन पत्र काट्दैछ त फेरि ?

बालेन : किन पत्र काट्दैछ, त्यो कानुनी कारबाही गरौंला न त !

महर्जन : कारबाही ढिला होला, काम पहिला भइरहेको छ ।

बालेन : काम त ठेक्का लगाइसकेपछि भइहाल्छ नि !

महर्जन : न्युरोडमा अहिले जे काम हुन लागेको छ, त्यो काम जनपक्षीय भए आउनुस हामी धिमे बाजा बजाएर स्वागत गर्छौं, नरिवल फुटाएर काम गर्नुस् न किन राति–राति काम गर्नुप¥र्या ? नगर प्रहरी २ सय जना उभ्याएर काम गर्ने हो ? त्यहाँको वडाध्यक्षलाई विपक्षमा बनाएर काम गर्ने हो ?

बालेन : तपाईंको वडामा काम नै भएको छैन, २४ नम्बरमा भएको हो । तपार्इंलाई किन यति धेरै समस्या ? त्यो बुझाउनुस् त पहिला ।

महर्जन : कस्तो कुरा, न्युरोडमा किन खण्डीकरण गर्नुहुन्छ ?

बालेन : खण्डीकरण वडाले गरेको छ, सरकारले गरेको छ ।

महर्जन : त्यसोभए च्यालेन्ज भो मेरो, २२ नम्बर वडाको अध्यक्षले गरेको काम गलत छ भन्नु न । २२ ले गरेको काम गैरकानुनी छ भनेर कानुनी रूपमा जानुस् म तयार छु ।

बालेन : तपाईंलाई के च्यालेन्ज दिने ?

महर्जन ः मैले न्युरोडलाई माया गर्न नपाउने ?

बालेन : तपाईं देशलाई माया गर्नु न किन न्युरोडलाई मात्रै ?

महर्जन : त्यो त तपाईंलाई नि छुट छ नि !

बालेन : २४ नम्बर वडाध्यक्षलाई फुटपाथ चाहियो रे, के गर्ने त अब ? तपाईंलाई सोध्ने ?

महर्जन : न्युरोड भनेको इन्द्रचोक मात्रै होइन ।

बालेन : कुनै वडालाई के चाहियो, सबै तपाईंलाई सोध्ने ? २४ नम्बर वडाध्यक्षलाई चाहिँदैन भने रोक्ने काम ? अरूको वडाको तपाईंलाई किन चासो ?

महर्जन : त्यो सोध्ने काम तपाईंको हो, सोध्नुस तपाईं ।

बालेन : (२४ नम्बर वडाध्यक्षलाई प्रश्न सोध्दै ) विनोद राजभण्डारी ज्यू, तपाईंलाई त्यहाँ फुटपाथ चाहिएको छ कि छैन ?

२४ नम्बर वडाध्यक्ष : सडकपेटी विस्तारको कुरा गर्दा मेरो वडामा विशाल बजार अगाडि क्षेत्रमा पेटी साँघुरो भएको, महिला दिदीबहिनीहरूको निवदेन पनि आएको र आउने क्रम अझै जारी छ । समग्र न्युरोडको कुरा गर्नु छैन, तर हामीले काम सुरु गरेको स्थानमा दुई, अढाइ फिट भए पनि बढाउनुपर्छ भनेर यसमा मन्जुर भएको हो ।

बालेन : अब के गर्ने ? उहाँले त बढाउनुपर्छ भनिसक्नुभयो ।

महर्जन : न्युरोडलाई किन खण्डीकरण गर्ने हामी ? किन टुक्रा बनाउने ?

बालेन : अब उहाँको वडामा वडा भवन बन्दैछ, त्यसमा पनि तपार्इंलाई सोध्ने ?

महर्जन : तपाईं विषयान्तर गर्ने, हामी पनि यो समाजको चिन्ता लिएर बसेको ३५ वर्ष भयो । यस्तो भाषा, कुरा हामी पनि बुझ्छौं । के भनिराख्नुभएको छ तपाईं ? त्यस्तो पाइन्छ ?

बालेन : न्युरोडलाई कसरी खण्डीकरण भो ?

महर्जन : के हो यो ? वडाध्यक्षबीचमा के गर्न खोज्नुभएको हो ? उहाँको विषय मलाई सोध्ने हो ?

बालेन : तपाईंको विषयमा केही भएकै छैन, २२ नम्बरमा केही भएको छैन के भो तपाईंलाई ?

महर्जन : तपाईंले टेन्डर २२ नम्बरको नहालेको हो ?

बालेन : टेन्डर त पूरै महानगरको लागेको छ ।

महर्जन : न्युरोडको टेन्डर सिङ्गै एउटा होइन ?

बालेन : हो, अनि के त ?

महर्जन : अनि, तपाईं के भन्दै हुनुहुन्छ त ?

बालेन : न्युरोडको सबै ठाउँमा टेन्डर लागेको हो । जुन–जुन जनप्रतिनिधिलाई सहज लाग्छ, बढाउने तर असहज लाग्छ नबढाउने

महर्जन : पक्का हो ?

बालेन : पक्का नि त्यही त भइरहेको छ त ! सडक पेटी बढाइन्छ । सडक विभागले बढा भन्यो भने त बढाइन्छ नि !

महर्जन : २२ को के कुरा ?

बालेन : नियम कानुनले माग्यो, मान्छेलाई चाहियो भने किन नबढाउने ? मापदण्ड विपरीत गर्न मिल्छ ?

(कार्यापालिकाका अन्य सदस्यले वादविवाद टुंग्याउन भन्छन्, वडाध्यक्ष महर्जन मौन बस्छन् ।)

महर्जन : मेयर साब, म चिनिकाजी महर्जनले मापदण्ड विपरीत गरेको कुनै काम छ ?

म एमालेको होला, कोही कांग्रेसको झोले होला, अहिलेसम्म स्वतन्त्र मेयरलाई असहयोग गरेको विषय छ ? दुई वर्ष कुनै विषयमा मतदान गरेको छ ? हाम्रो यत्रो सम्मान, सहकार्यलाई अपमान गर्ने ? २२ नम्बर वडामा के हुँदैछ नभन्ने ? अब अध्ययन गर्ने रे । नाटक भएपछि रिहर्ल्स गर्ने ?

बालेन : हो, अब अध्ययन हुन्छ, अध्ययनले फुटापथ बढाउन चाहिन्छ भन्यो भने मान्नुहुन्छ ?

महर्जन : मैले मान्दिन भनेको छु र ? तर, अध्ययन कसले गर्ने ?

बालेन : हाम्रो योजना आयोग छ, इन्जिनियर छन् , भैहाल्छ नि !

महर्जन : अध्ययनमा स्टेक होल्डरहरू समावेश हुनुपर्छ ।

(प्रवक्ता नविन मानन्धरले हस्तक्षेप गर्छन् । समिति गठन गर्न प्रस्ताव गर्छन् । त्यसपछि अन्य विषयमा छलफल चल्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *