जलन उपचार सेवालाई प्रभावकारी बनाउन आठ स्वास्थ्यकर्मी दक्ष बनाइँदै

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । नेपालमा जलन उपचार सेवालाई विस्तार तथा गुणस्तरीय बनाउने उद्देश्यले आठजना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ।

सरकारको १०० कार्यदिने प्राथमिकतामा रहेको जलन उपचार सेवाको सुदृढीकरण गर्ने लक्ष्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा तालिम सञ्चालन गरेको हो।

३० कार्यदिन अवधिको उक्त तालिम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरण असोज ७ देखि ३० गतेसम्म र दोस्रो चरण कात्तिक ९ देखि १८ गतेसम्म सञ्चालन गरिएको थियो।

विषयविज्ञ डा. शंकरमान राईको नेतृत्वमा सम्पन्न तालिममा नारायणी अस्पताल वीरगञ्ज र प्रदेश अस्पताल सुर्खेतबाट चार–चार जना गरी आठजना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए।

कात्तिक १८ गते राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक प्रकाशप्रसाद शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको हो।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक कृष्णप्रसाद पौडेल, उपचारात्मक सेवा महाशाखाका निर्देशक पवनजंग रायमाझीलगायत मन्त्रालयका प्रतिनिधि, जलन उपचार क्षेत्रका सरोकारवाला तथा विषयविज्ञहरूको उपस्थिति रहेको थियो।

तालिमबाट प्राप्त ज्ञान र सीपले जलनका बिरामीलाई समयमै प्रभावकारी उपचार उपलब्ध गराउन तथा देशभर जलन उपचार सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *