सरकारी फाइल अड्काउने प्रवृत्ति अन्त्य गर्न नयाँ नियमावली, मन्त्रीदेखि सचिवसम्मलाई निर्णयको समयसीमा
2026-11-03सात पटक म्याद थप्दा पनि बनेन मुडे–बाघखोर–कालापानी सडक, ठेक्का तोड्ने तयारी
2026-11-03नेपाल थामी समाजले सार्वजनिक गर्यो पहिलो राष्ट्रिय थामी गीत, निर्माणमा नेपाल थामी समाज मलेसियाको विशेष योगदान !!!
2026-11-01
सात पटक म्याद थप्दा पनि बनेन मुडे–बाघखोर–कालापानी सडक, ठेक्का तोड्ने तयारी
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

दोलखा। दोलखाको प्रसिद्ध पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बाघखोर–कालापानी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ। सम्झौता भएको सात वर्ष बितिसक्दा पनि सडक निर्माण सम्पन्न हुन नसकेपछि बागमती प्रदेश सरकार ठेक्का तोड्ने तयारीमा जुटेको छ।
१६ किलोमिटर लामो सडकखण्डमध्ये १३ किलोमिटर मात्र कालोपत्रे भएको छ भने बाँकी तीन किलोमिटर अझै अधुरै छ। अधुरो सडक वर्षायाममा हिलाम्मे र दलदल हुने तथा खाल्टाखुल्टीका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती खेप्दै आएका छन्।
बागमती प्रदेश सरकारको ३३ करोड ७७ लाख ५४ हजार रुपैयाँ लागतमा निर्माणाधीन उक्त सडकको ठेक्का महालक्ष्मी–दी कञ्चनजंघा–शुभकामना जेभीले पाएको थियो। २०७६ असार ४ गते सम्झौता भएको सडक निर्माणका लागि सात पटकसम्म म्याद थप गरिएको थियो।
पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाका अनुसार पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम पूरा नगरेपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
निर्माणमा ढिलाइ गरेबापत नियमअनुसार प्रतिदिन ठेक्का रकमको ०.०५ प्रतिशतका दरले कुल २ करोड ९७ लाख रुपैयाँ जरिवानासमेत असुल गरिएको कार्यालयले जनाएको छ।
सात पटक म्याद थप, करोडौँ रुपैयाँ जरिवाना र पटक–पटकको ताकेतासमेत प्रभावकारी हुन नसक्दा सडक अझै अधुरै रहेको छ। शैलुङजस्तो महत्वपूर्ण पर्यटकीय गन्तव्य जोड्ने सडक वर्षौँदेखि अलपत्र पर्दा स्थानीय बासिन्दा, व्यवसायी तथा पर्यटक प्रभावित भएका छन्।
स्थानीयले बाँकी सडकखण्डको निर्माण तत्काल सम्पन्न गर्न, सडकको गुणस्तर कायम गर्न र विकास निर्माणमा हुने ढिलासुस्तीप्रति सम्बन्धित निकायले जवाफदेही बन्नुपर्ने माग गरेका छन्।
थाङमिचागु डटकम संवाददाता




