राति पनि तीव्र गतिमा आरुघाट पुलमा बेलिब्रिज जडान सञ्चालनको तयारी
2026-10-18गाईवस्तुको दानामा प्रयोग हुने चोकर भेटिएपछि प्रियागोल्ड बिस्कुट नेपालमा प्रतिबन्धित
2026-10-18
गाईवस्तुको दानामा प्रयोग हुने चोकर भेटिएपछि प्रियागोल्ड बिस्कुट नेपालमा प्रतिबन्धित
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं, कात्तिक १ । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटको आयात तथा बिक्री वितरणमा नेपाल सरकारले रोक लगाएको छ। बिस्कुट उत्पादनमा मानव उपभोगका लागि नभएको र गाईवस्तुको दानामा प्रयोग हुने चोकर भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्तो निर्णय गरेको हो।
विभागले सूर्या फुड एन्ड एग्रो लिमिटेड, भारतद्वारा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति स्थगन गर्दै बजारमा रहेका सबै बिस्कुट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागको सूचनाअनुसार उत्पादन मिति जुनसुकै भए पनि प्रियागोल्ड ब्रान्डका सबै ब्याचका बिस्कुटको बिक्री वितरण रोक्नुपर्नेछ। सम्बन्धित आयातकर्ता, वितरक तथा खाद्य व्यवसायीलाई बजारमा रहेका उत्पादन तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ।
भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले सन् २०२६ अक्टोबर १७ मा जारी गरेको सूचना तथा उत्पादक कम्पनीको कारखानामा गरिएको निरीक्षणका आधारमा नेपालमा यस्तो निर्णय गरिएको हो।
निरीक्षणका क्रममा बिस्कुटमा रेसा (फाइबर) को स्रोतका रूपमा गाईवस्तुको दानामा प्रयोग हुने चोकर राखिएको पाइएको थियो। उक्त चोकर राखिएका बोरामा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि होइन’ भन्ने उल्लेख रहेको जनाइएको छ।
त्यसैगरी, कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण तथा कर्मचारीको व्यक्तिगत स्वच्छतासम्बन्धी विषयमा समेत कमजोरी भेटिएको विवरणमा उल्लेख छ।
विभागले बजारबाट फिर्ता गरिएका बिस्कुट स्थानीय प्रशासन वा स्थानीय तहका प्रतिनिधि तथा विभागका प्राविधिक कर्मचारीको रोहबरमा आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा नष्ट गर्न निर्देशन दिएको छ। निर्देशन उल्लङ्घन गरी बिक्री वितरण गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने विभागले जनाएको छ।
यस निर्णयसँगै नेपालमा प्रियागोल्ड बिस्कुटको आयात तथा बिक्री वितरण अर्को आदेश नभएसम्म रोकिएको छ। उपभोक्तालाई उक्त ब्रान्डका बिस्कुट तत्काल उपभोग नगर्न र आधिकारिक निकायको सूचनालाई ध्यान दिन आग्रह गरिएको छ।




