किरात राई यायोक्खा विदेश संगठन मलेसियाद्वारा विपद् राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग !!!
2026-09-30विराटनगरमा गाँजा बोकेको स्कार्पियो दुर्घटनाग्रस्त, ३९८ किलो गाँजा बरामद
2026-09-28देशभर बाढी–पहिरोको कहर : १२ जनाको मृत्यु, ७ जना बेपत्ता, नवलपरासीमा १,१०० भन्दा बढीको उद्धार
2026-09-28
किरात राई यायोक्खा विदेश संगठन मलेसियाद्वारा विपद् राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग !!!
किरात राई यायोक्खा विदेश संगठन मलेसियाद्वारा विपद् राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग
२०८३ असोज १४ गते बुधवार / Sep 30, 2026, Wednesday
संवाददाता थाङ्मीचागु डटकम
मलेसिया । किरात राई यायोक्खा विदेश संगठन मलेसियाले नेपालमा हालै गएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार ८ रुपैयाँ सहयोग गरेको छ।
गत भदौ १० गते नेपालका विभिन्न जिल्लामा गएको प्राकृतिक विपद्का कारण विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। विपद्बाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै किरात राई यायोक्खा विदेश संगठन मलेसियाले आफ्नो तेस्रो राष्ट्रिय अधिवेशनका क्रममा राहत रकम संकलन गर्ने निर्णय गरेको थियो।
गत सेप्टेम्बर २० तारिख क्वालालम्पुरमा सम्पन्न संगठनको तेस्रो राष्ट्रिय अधिवेशनका क्रममा संकलित ७१४ मलेसियन रिंगेट तथा संस्थाको तर्फबाट थप ६६७ मलेसियन रिंगेट गरी कुल १ हजार ३८१ मलेसियन रिंगेट रकम नेपाली रुपैयाँमा रूपान्तरण गरी ५१ हजार ८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा Ria Money Transfer मार्फत जम्मा गरिएको संगठनले जनाएको छ।
नेपालमा ठूलो प्राकृतिक विपद् आएपछि अधिवेशन स्थगित गर्ने वा निर्धारित मितिमै सम्पन्न गर्ने भन्ने विषयमा संगठनले तत्काल भर्चुअल बैठकमार्फत छलफल गरेको थियो। लामो समयदेखि पूर्वनिर्धारित कार्यक्रम रहेकाले विपद्को अवस्थालाई समेत ध्यानमा राख्दै कार्यक्रम स्थगित नगरी निर्धारित मितिमै अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको थियो।
अधिवेशनलाई मानवीय सहयोग तथा एकताको सन्देश दिने अवसरका रूपमा उपयोग गर्ने निर्णयअनुसार राहत रकम संकलन गरिएको संगठनले जनाएको छ।
अधिवेशनका क्रममा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
अधिवेशनमा मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलसम्बद्ध प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
किरात राई यायोक्खा विदेश संगठन मलेसियाले सामाजिक, सांस्कृतिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
विपद्को समयमा पीडितको साथमा उभिनु र आफ्नो क्षमताअनुसार सहयोग गर्नु नेपाली समुदायको साझा दायित्व भएको संगठनको भनाइ छ।
थाङ्मीचागु डटकम | सत्य, तथ्य, निष्पक्ष खबर




