किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न, छबिधान राईको नेतृत्वमा नयाँ कार्यसमिति ।।।
2026-09-21कुर्दिस्तान स्पोर्ट्स सेन्टर च्याम्पियनसिपमा नेपाली खेलाडी दावा फुन्जो शेर्पाको सफलता ।।।
2026-09-20
एमाले कार्यदलमा फेरि विवाद ज्ञवालीको प्रतिवेदन अस्वीकार गर्ने पुनर्गठन पक्षधरको दाबी
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । नेकपा (एमाले) मा निर्वाचन समीक्षा तथा नेतृत्व पुनर्गठनका विषयमा गठन गरिएको कार्यदलभित्र प्रतिवेदनलाई लिएर विवाद चर्किएको छ। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुनर्लेखन गरिएको भनिएको प्रतिवेदनलाई नेतृत्व पुनर्गठनको पक्षमा रहेका कार्यदलका सदस्यहरूले अस्वीकार गर्ने बताएका छन्।
यसअघि कार्यदलका सदस्य सचिव तथा महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्नेलगायतका विषय समेटिएका थिए। उक्त प्रतिवेदनप्रति असहमति जनाउँदै त्यसलाई पुनर्लेखन गर्न दबाब दिइएको बताइएको छ।
काभ्रेको बल्थलीमा बसेको कार्यदलको बैठकमा दुई छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गर्ने विषयमा सहमति जुट्न नसकेपछि संयोजक रामबहादुर थापा ‘बादल’, सदस्य विष्णुप्रसाद पौडेल र सदस्य सचिव शंकर पोखरेललाई संयुक्त रूपमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो।
तर त्यसपछि अध्यक्ष ओलीसँग भएको छलफलपछि नेता प्रदीप ज्ञवालीलाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको र उनले २९ पृष्ठको नयाँ प्रतिवेदन तयार गरेको बताइएको छ। उक्त प्रतिवेदनमा अध्यक्ष ओलीको नेतृत्वको बचाउ र प्रशंसालाई प्राथमिकता दिइएको दाबी गरिएको छ।
पुनर्गठनको पक्षमा रहेका कार्यदलका सदस्यहरूले भने ज्ञवाली कार्यदलका सदस्य नभएकाले उनले तयार पारेको प्रतिवेदनलाई कार्यदलको आधिकारिक प्रतिवेदनका रूपमा स्वीकार गर्न नसकिने बताएका छन्।
कार्यदलका एक सदस्यले भने, ‘यो कुनै वैधानिक प्रतिवेदन होइन। कार्यदल बाहिरबाट आएको विषयलाई कार्यदलले कसरी स्वीकार गर्ने ? यसमा छलफल नै हुन सक्दैन।
यसअघि महासचिव पोखरेलले ६५ पृष्ठको प्रतिवेदन तयार गरेका थिए भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले त्यसको प्रतिवादसहित ३९ पृष्ठको अर्को प्रतिवेदन ल्याएका थिए। दुवै प्रतिवेदनलाई समायोजन गरी साझा दस्तावेज तयार गर्ने प्रयास सफल नभएपछि अहिले २९ पृष्ठको तेस्रो प्रतिवेदन तयार भएको हो।
प्रतिवेदनबारे विवाद समाधान गर्न बसेका नेताहरूबीचसमेत सहमति जुट्न नसकेको यसअघि सार्वजनिक विवरणमा उल्लेख छ।
अब बस्ने कार्यदल बैठकमा उक्त प्रतिवेदनमाथि छलफल हुने भए पनि पुनर्गठनको पक्षमा रहेका सदस्यहरूले नै त्यसलाई अस्वीकार गर्ने अडान लिएपछि एमालेभित्रको नेतृत्व पुनर्गठनसम्बन्धी विवाद थप पेचिलो बनेको छ।




