गैसंस महासंघ नवलपरासीको ११औँ जिल्ला अधिवेशन सम्पन्न रञ्जित शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

नवलपरासी, ९ भदौ । गैर सरकारी संस्था महासंघ (गैसंस) नवलपरासीको ११औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रञ्जित शर्माको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रञ्जित शर्मा, उपाध्यक्षमा सुदर्शन खरबार, सचिवमा रामकृपाल गुप्ता, सह–सचिवमा तिलकुमार श्रेष्ठ र कोषाध्यक्षमा बच्चाराज भर चयन भएका छन्। सदस्यहरूमा शालिकराम पोखरेल, आदित्य प्रजापतिलगायत चयन भएका छन्।

गैसंस नवलपरासीकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता तथा साविक पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय गैर सरकारी संस्था महासंघका पूर्व उपाध्यक्ष बद्री सुवेदीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि सुवेदीले गैर सरकारी संस्थाहरूले समाज रूपान्तरण, सुशासन प्रवर्द्धन तथा नागरिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै संस्थागत एकता, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

अधिवेशन सम्पन्न गराउन पूर्व उपाध्यक्ष विमलचन्द्र घिमिरेको संयोजकत्वमा गठित निर्वाचन समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। समितिमा राकेश गुप्ता र मञ्जु यादव सदस्य रहेका थिए।

नवनिर्वाचित अध्यक्ष रञ्जित शर्माले गैर सरकारी संस्थाबीच समन्वय, सहकार्य तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै जिल्लामा सामाजिक विकास, मानव अधिकार, सुशासन तथा समुदायकेन्द्रित कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

अधिवेशनले आगामी कार्यकालमा संस्थागत विकास, सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धनका लागि विभिन्न योजना अघि बढाउने निर्णयसमेत गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *