नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीको सातौँ प्रस्तुति तीज विशेष कार्यक्रम २०२६ आयोजना हुने

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

सुलेमानी कुर्दिस्तान इराक । नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीले हरितालिका तीजको अवसरमा ‘तीज विशेष कार्यक्रम–२०२६ आयोजना गरेको छ ।

नेपाली महिला समाजको भावना हरेक सुख–दुःखमा एकता गर्ने चाहना भन्ने मूल नारासहित सन् २०१७ मा स्थापना भएको संस्थाले प्रवासमा नेपाली भाषाकला संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ। सोही अभियानलाई निरन्तरता दिँदै समाजले आफ्नो सातौँ प्रस्तुति स्वरूप यस वर्ष पनि तीज विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।

आयोजकका अनुसार कार्यक्रम ११ सेप्टेम्बर २०२६ शुक्रबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सुलेमानीस्थित नेपाली रेस्टुरेन्ट एण्ड बारमा सञ्चालन हुनेछ।

नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीकी महासचिव माया स्याङतान तामाङले प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष तीजलगायत विभिन्न नेपाली चाडपर्वका अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आएको बताइन्।

उनका अनुसार यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्न सहयोग पुग्नुका साथै नयाँ पुस्तालाई नेपाली भाषा, कला, संस्कृति र परम्पराबारे बुझ्न तथा त्यससँग जोडिन महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रममा स्थानीय कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, तीजका गीत–संगीतलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कुर्दिस्तानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा–बुवा, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, बुद्धिजीवी, कलाकार, व्यवसायी तथा सञ्चारकर्मीलाई कार्यक्रममा उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीकी अध्यक्ष जेसिका बम्जनको अध्यक्षतामा हुने जनाइएको छ। कार्यक्रमको संयोजन कोषाध्यक्ष सृष्टि शेर्पाले गर्ने तथा सञ्चालन महासचिव माया स्याङतान तामाङले गर्ने आयोजकले जनाएको छ।

प्रवासमा नेपाली कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले कुर्दिस्तानमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *