संकटमा सरस्वती नदीको उद्गमस्थल दुधही भवरी संरक्षणको माग

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको दुधही भवरी–सरस्वती नदीको उद्गमस्थल संरक्षणको अभावमा संकटमा परेको स्थानीयवासीले गुनासो गरेका छन्।

पूर्व–पश्चिम लोकमार्ग आसपास लहान नगरपालिका र धनगढीमाई नगरपालिकाको सीमाक्षेत्रमा पर्ने तथा बाटिका टुरिजम एरियासँग जोडिएको उक्त स्थलको जलाशय क्रमशः पुरिँदै गएर खेतीयोग्य जमिनमा परिणत हुँदै गएको स्थानीयको भनाइ छ। कुनै समय पानीले भरिभराउ रहने भवरी अहिले आफ्नो मौलिक स्वरूप गुमाउँदै गएको भन्दै स्थानीय तथा श्रद्धालुहरू चिन्तित बनेका छन्।

स्थानीय जनविश्वासअनुसार खडेरीको समयमा समेत पानी नसुक्ने यस पवित्र जलाशयमा स्नान गर्दा विभिन्न रोग तथा दुःख–कष्टबाट मुक्ति मिल्ने विश्वास रहँदै आएको छ। यही धार्मिक आस्थाका कारण टाढाटाढाबाट श्रद्धालुहरू यहाँ पुगेर स्नान तथा पूजाआजा गर्ने गरेको स्थानीय बताउँछन्।

भक्तजनहरूले स्नानपछि आफूले लगाएका कपडा त्यहीँ छाडेर जाने धार्मिक परम्परा समेत रहेको बताइन्छ। यसले दुधही भवरीको स्थानीय धार्मिक तथा सांस्कृतिक महत्वलाई झल्काउने स्थानीयको भनाइ छ।

सरस्वती नदीको पानी विभिन्न धार्मिक अनुष्ठानमा समेत प्रयोग हुँदै आएको बताइएको छ। सिराहाका विभिन्न स्थानमा हुने पूजाआजा तथा धार्मिक कार्यक्रममा भक्तजनहरूले कलश यात्रामार्फत यही नदीबाट जल भरेर लैजाने गरेको स्थानीयको भनाइ छ। फूलबारी धामसँग समेत यस नदीको धार्मिक सम्बन्ध रहेको जनविश्वास छ।

धार्मिक महत्वसँगै सरस्वती नदी स्थानीय किसानका लागि सिँचाइको स्रोतका रूपमा समेत महत्वपूर्ण रहेको बताइएको छ। मुहान तथा जलाशयको प्राकृतिक स्वरूपमा असर पर्दा भविष्यमा पानीको बहाव र सिँचाइ प्रणालीमा समेत प्रभाव पर्न सक्ने स्थानीयको चिन्ता छ।

स्थानीयले नदीको उद्गमस्थल तथा जलाशय क्षेत्र क्रमशः खेतीयोग्य जमिनमा परिणत हुँदै गएको दाबी गर्दै यसबारे निष्पक्ष अध्ययन र छानबिनको माग गरेका छन्। उनीहरूले नाप–नक्सा, जग्गाको स्वामित्व, सार्वजनिक वा सरकारी जग्गाको अवस्था तथा अतिक्रमण भएको–नभएको विषयमा सम्बन्धित निकायले स्थलगत अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका छन्।

स्थानीयको मागअनुसार लहान नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापी तथा मालपोतसम्बन्धी निकाय, जलस्रोत तथा वातावरणसम्बन्धी निकायले संयुक्त रूपमा स्थलको निरीक्षण गरी आवश्यक संरक्षणको पहल गर्नुपर्ने देखिन्छ। स्थलको ऐतिहासिक, धार्मिक वा पुरातात्विक महत्व प्रमाणित भएमा सम्बन्धित निकायबाट त्यसअनुसार संरक्षण र अभिलेखीकरणको प्रक्रिया अघि बढाउनुपर्ने स्थानीयको माग छ।

स्थानीयवासीका अनुसार दुधही भवरी केवल एउटा जलाशय वा नदीको मुहान मात्र नभई पुस्तौँदेखि स्थानीय धार्मिक आस्था, परम्परा, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचानसँग जोडिएको स्थल हो।

समयमै संरक्षणको पहल नगरिए धार्मिक आस्था र प्राकृतिक सम्पदासँग जोडिएको यो स्थलको मौलिक स्वरूप नै हराउन सक्ने स्थानीयको चिन्ता छ। त्यसैले दुधही भवरी–सरस्वती नदीको उद्गमस्थलको वास्तविक अवस्था पहिचान गरी संरक्षण, सीमाङ्कन र व्यवस्थित विकासतर्फ तत्काल सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीयको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *