अविरल वर्षाका कारण भीरबाट ढुङ्गा खस्दा घर पूर्ण रूपमा क्षतिग्रस्त दुई बालिका सकुशल

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

अविरल वर्षाका कारण भीरबाट ठूलो ढुङ्गा खस्दा डोल्पाको मुड्केचुला गाउँपालिका–७, सर्मी माथिल्लो गाउँमा एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरमा बस्दै आएका दुई बालिका (दिदीबहिनी) भने सकुशल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार साउन २९ गते दिउँसो करिब १ बजे घरनजिकै रहेको भीरबाट अविरल वर्षाका कारण ठूलो ढुङ्गा खसेर घरमा क्षति पुगेको हो।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सर्मीबाट प्रहरी सहायक निरीक्षक उत्तमबहादुर बोहोराको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

ढुङ्गा खस्दा घर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। घरमा बस्दै आएका दुवै बालिका सुरक्षित अवस्थामा रहेका छन्। उनीहरू हाल आफ्नी फूपुको घरमा आश्रय लिएर बसेका छन्।

घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा बालिकाहरूका लत्ताकपडा तथा अन्य भौतिक सामग्री सुरक्षित स्थानमा सार्न सहयोग गरेको थियो। साथै, प्रहरीले स्थानीय बासिन्दालाई वर्षायाममा भीर तथा पहिरोको जोखिमबाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

अविरल वर्षाका कारण पहाडी तथा भीरालो क्षेत्रमा ढुङ्गा खस्ने, पहिरो जाने तथा सडक र बाटो अवरुद्ध हुने जोखिम बढेकाले जिल्ला प्रहरी कार्यालय डोल्पाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

स्थानीय प्रहरी तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्दै सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *