मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
स्कुले विद्यार्थीको पुस्तकको बोझ घटाउने सरकारको तयारी
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

काठमाडौं । सरकारले विद्यालय तहका विद्यार्थीमाथि रहेको पुस्तकको बोझ घटाउँदै प्रयोगात्मक तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिने गरी राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ।
बदलिँदो शैक्षिक, सामाजिक र प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सरकारले गठन गरेको कार्यदलले आफ्नो काम अन्तिम चरणमा पुर्याएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयमा सम्पन्न कार्यदलको सातौँ बैठकमा पाठ्यक्रम सुधारका विषयमा विस्तृत छलफल हुनुका साथै कार्यदलअन्तर्गत गठित १२ वटा विधागत समूहको प्रगति समीक्षा गरिएको थियो।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले सबै सरोकारवालाको सुझाव, परामर्श र समन्वयलाई समेटेर पाठ्यक्रम प्रारूपलाई छिट्टै अन्तिम निष्कर्षमा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यदलका संयोजक प्रा. डा. बालचन्द्र लुइँटेलले पर्याप्त छलफल, अध्ययन र आवश्यक तयारीपछि मात्रै प्रतिवेदनलाई अन्तिम रूप दिइने बताए। उनका अनुसार पाठ्यक्रम सुधार गर्दा विद्यार्थीको सिकाइ उपलब्धि, व्यवहारिक ज्ञान र वर्तमान आवश्यकता मुख्य आधार बन्नेछ।
बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन तथा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघलगायतका प्रतिनिधिहरूको सहभागिता थियो।
सरकारले अघि बढाउन लागेको पाठ्यक्रम सुधारबाट विद्यार्थीको अनावश्यक शैक्षिक भार कम हुनुका साथै पुस्तक केन्द्रित शिक्षाभन्दा प्रयोगात्मक, सिर्जनात्मक र प्रविधिमैत्री सिकाइलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।





