शान्ति र सद्भावको र्‍यालीमा सबै समुदायको सहभागिता आवश्यक गोलबजारमा समावेशिता माथि प्रश्न

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

शान्ति सद्भाव र सामाजिक एकताको सन्देश दिने उद्देश्यले गोलबजारमा आयोजित र्‍यालीप्रति सकारात्मक प्रतिक्रिया आए पनि कार्यक्रममा सबै समुदाय, वर्ग, क्षेत्र र सरोकारवालाको अपेक्षाकृत व्यापक सहभागिता हुन नसकेको भन्दै केही स्थानीयले प्रश्न उठाएका छन् ।

गोलबजारमा सयौँ व्यवसायी, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा नागरिक समाजका व्यक्तिहरू सक्रिय रहेकाले शान्ति र सद्भावका लागि आयोजना गरिने कार्यक्रम सबै पक्षलाई समेटेर अघि बढाउनुपर्ने स्थानीयको धारणा छ ।

र्‍यालीमार्फत सद्भावको सन्देश प्रवाह भइरहँदा केही व्यवसायी तथा विभिन्न समुदायका पसलहरू नियमित रूपमा खुला देखिनुले पनि कार्यक्रमको सहभागिता र प्रभावकारिताबारे थप बहस आवश्यक रहेको उनीहरूको भनाइ छ ।

स्थानीयका अनुसार व्यापार संघको नेतृत्वमा आयोजना हुने यस्ता कार्यक्रममा अन्य व्यवसायी, समाजसेवी, बुद्धिजीवी, पत्रकार, नागरिक समाज तथा विभिन्न समुदायका प्रतिनिधिलाई समेत सहभागी गराउन सके कार्यक्रमको सन्देश अझ व्यापक, बलियो र प्रभावकारी बन्न सक्छ । तर पछिल्लो र्‍यालीमा अपेक्षाअनुसार सबै पक्षको सहभागिता नदेखिएको भन्दै कतिपयले असन्तुष्टि व्यक्त गरेका छन् ।

यस्तै व्यापार संघले राजनीतिक गतिविधिभन्दा व्यवसायीका समस्या, पीडा, हकहित र व्यावसायिक सुरक्षाका विषयमा केन्द्रित भएर आवाज उठाउनुपर्ने धारणा पनि स्थानीयस्तरमा उठेको छ । केही व्यक्तिले संघका गतिविधिमा राजनीतिकरण भएको आरोप लगाए पनि यसबारे सम्बन्धित पक्षको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ ।

स्थानीयवासीका अनुसार सद्भावको नाममा आयोजना गरिने कुनै पनि कार्यक्रमले समुदायबीच दूरी बढाउने होइन, आपसी विश्वास, सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्छ । त्यसका लागि आरोप–प्रत्यारोपभन्दा संवाद, सहकार्य र सबै पक्षको सम्मानलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *